• संसदीय छानबिन समितिमा रविको बयान : सबै कुरा जीबी राईलाई नै थाहा होला

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारीमा भएको आर्थिक अनियमितताको जिम्मा जीबी राईले लिनुपर्ने बताएका छन् ।

    सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले शुक्रवार लिएको बयानमा लामिछानेले यस्तो बताएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् । लामिछानेले आर्थिकसम्बन्धी सबै जिम्मा गोरखा मिडिया नेटवर्कका सञ्चालक राईले लिने गरेको बताउँदै ‘सहकारी ठगीबारेको सबै कुरा राईलाई नै थाहा होला’ भनेका थिए ।

    समितिले रास्वपा सभापति लामिछानेसँग बयान लिइरहेको छ । संसद् सचिवालय सिंहदरबारमा शुक्रवार अपरान्हबाट समितिले उनीसँग बयान लिइरहेको हो । गोरखा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टीभीको प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेसँग समितिले बयान लिएको हो । गोरखा मिडियाकै पूर्वसञ्चालक छविलाल जोशी बञ्जाडेसँग समितिले शुक्रवार झण्डै पाँच घण्टा लामो बयान लिएको थियो । 

    लामिछानेसँग सोध्नका लागि समितिले तीन दर्जन लिखित प्रश्नावली तयार गरेको छ । बयान अझै दुई घण्टासम्म चल्ने बताइएको छ । अधिकांश प्रश्न व्यक्तिको नाममा सहकारीबाट ऋण लिएर टेलिभिजनमा लगानी गर्न मिल्छ ? भनेर सोधिएको छ ।  लामिछानेले कुनै पनि सहकारीबाट गोर्खा मिडियामा आएको रकममा आफ्नो हस्ताक्षर, नागरिकता लगायतका कुनै पनि कागजात समावेश नभएको बयान दिएका छन् । 

    उनले बुटवलको सुप्रिम, चितवनको सहारा, पोखराको सूर्यदर्शन र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट आएको कुनैपनि ऋण र अन्य रकममा आफ्नो संलग्नता नभएको बताएका हुन् । समितिका सभापति सूर्य थापाले दिएको जानकारी अनुसार, रविलाई सोध्नका लागि लगभग ५० वटा प्रश्न तयार पारिएका छन् । तीमध्ये झण्डै आधा प्रश्न सोधिएको उनले जानकारी दिएका छन् । बयानका लागि सभापति लामिछाने केही फाइल बोकेर संसदीय समितिको बैठकमा प्रवेश गरेका थिए । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय