• परराष्ट्र मन्त्री राणा भारत जाँदै, क–कसलाई भेट्दै छिन् ?

  • काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा (देउवा) भारत भ्रमणमा निस्किने भएकी छन् । उनी अर्को हप्ता नयाँदिल्ली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

    भारत बसाईका क्रममा उनले उच्च अधिकारीसहित समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्नेछिन् । परराष्ट्र मन्त्री भएपछि राणाको यो पहिलो विदेश भ्रमण हो । यद्यपि, दुवै पक्षबाट परराष्ट्र मन्त्री राणाको भारत भ्रमणबारे औपचारिक जानकारी आएको छै न। आज बस्ने मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय लिनसक्ने स्रोतले बताएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि भारतबाट केही दिनअघि भारतका विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण भएको थियो । विदेश सचिव मिश्रीले नेपालमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री, मन्त्रीहरू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए । दुई देशको आपसी सद्भाव र सम्बन्धलाई थप मजबुत बनाउन परराष्ट्र मन्त्री भारत जान लागेको बताइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय