काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ ।
पूर्वाधार विकास समितिका माननीय सभापति दिपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८० पेस गर्नेछन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मरबहादुर थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिका माननीय सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।