• प्रधानमन्त्रीसँग सिंहदबारमा भारतीय विदेश सचिवको शिष्टाचार भेट

  • काठमाडौं :   प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतका विदेशसचिव विक्रम मिश्रीविच शिष्टाचार भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री ओलीसँग सचिव मिश्रीले भेट गरेका हुन् । 

    भारतका विदेश सचिव मिस्री परराष्ट्र सचिव श्री सेवा लम्सालको निमन्त्रणामा आइतबार काठमाडौं आएका हुन् । दुवै देशले मिस्रीको भ्रमणलाई भइरहेका नियमित उच्चस्तरीय भ्रमणहरूको नियमित सिलसिला भनेका छन् । 

    यद्यपि नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार बनेपछि भारतबाट भएको पहिलो उच्चस्तरीय भ्रमण भएकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले शिष्टचार भ्रमण भएको बताए । भ्रमणका क्रममा नेपाल तथा भारतका कुनै पनि संयुक्त समितिहरूका बैठक नराखिएको उनले बताए । भने, ‘भारतमा नयाँ विदेश सचिव नियुक्त हुनु भएपछि छिमेकी मुलुकहरूको भ्रमण गर्ने प्रचलन छ सोही चलन अनुसार उहाँ नेपालको शिष्टाचार भ्रमणमा आउनु भएको हो ।’ 

    उनी गत असार १४ गते भारतको विदेशसचिवमा नियुक्त भएका थिए । विदेशसचिव मिश्री चीन, स्पेन र म्यानमारका लागि भारतीय राजदूत भइसकेका छन् । यसैगरी, उनले प्रधानमन्त्री नरेन्द्र मोदी तथा तत्कालीन प्रधानमन्त्रीद्वय डा। मनमोहन सिंह र आइके गुजरालको निजी सचिवका रूपमा काम गरिसकेका छन् । 

    कूटनीति र सुरक्षाको अनुभव रहेका मिश्री भारतीय विदेश मन्त्रालयमा चीनविज्ञका रूपमा चिनिन्छन् । चिनियाँ भाषाको विज्ञतासमेत लिएका मिश्रीले दुई छिमेकी चीन र म्यानमारमा राजदूतको अनुभव लिएका छन् । राजदूतभन्दा तल्लो ओहोदामा श्रीलंका र पाकिस्तानस्थित भारतीय उच्च आयोग ९राजदूतावास०मा काम गरेको अनुभव छ । उनले नेपालसँग सम्बन्धित उत्तरी डिभिजन वा नेपालस्थित भारतीय राजदूतावासमा भने काम गरेका छैनन् । 

    भारतको कस्मिरमा ७ नोभेम्बर १९६४ मा जन्मेका मिश्री १९८९ मा विदेश सेवामा प्रवेश गरेका थिए । उनी ५ मे २०२० मा भारत–चीन सीमा क्षेत्र गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच तनाव हुँदा चीनका लागि भारतीय राजदूत थिए । उनी २०१९ को सुरुवातदेखि २०२१ को अन्तिमसम्म चीनका लागि भारतीय राजदूत थिए । त्यसअघि उनले स्पेन र म्यानमारका लागि भारतीय राजदूतको अनुभव लिएका छन् । त्यसो त उनी २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको निजी सचिवका रूपमा कार्य गरेको अनुभव र निकटता दुवै छ । 

    मोदीसँग मात्र नभएर उनी इन्द्रकुमार गुजराल र डा। मनमोहन सिंहका पालामा पनि प्रधानमन्त्रीको निजी सचिव थिए । २०१८ देखि २०२१ मा चीनका लागि उनी राजदूत भएर फर्केपछि मिश्रीलाई सरकारले उपराष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।  विदेश सेवाको दौरान उनले बेल्जियम, पाकिस्तान, अमेरिका, श्रीलंका र जर्मनीमा काम गरेको अनुभव छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस