• लुम्बिनीमा सरकार विस्तारमा किचलो : मुख्यमन्त्री आचार्य नौं मन्त्रीसहित काठमाडौंमा

  • काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित नौं जना मन्त्रीसहित काठमाडौं आइपुगेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका सबै मन्त्रीहरूसँग छलफल गर्ने भनेपछि उनीहरू काठमाडौं आएका हुन् । 

    प्रधानमन्त्रीले लुम्बिनी प्रदेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूसँग छलफल राखेको शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज) ले जानकारी दिए । ‘प्रधानमन्त्री ज्यूले छलफल गर्ने भनेपछि हामी सबै मन्त्री काठमाडौंमा छौं,’ उनले सुनाए, ‘संघीयता कार्यान्वयन र विकासलाई गति दिने   विषयमा प्रधानमन्त्रीले केही निर्देशनात्मक कुराहरू राख्ने कार्यक्रम तय भएको बुझेका छौं ।’

    नेपाली कांग्रेसबाट मन्त्री छान्ने विषयमा बढेको किचलोका कारण लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन । १२ मन्त्रालय रहेको प्रदेशमा अहिलेसम्म मुख्यमन्त्रीसहित नौं जना मात्रै मन्त्री छन् । साउन ७ गते मुख्यमन्त्री बनेका चेतनारायण आचार्यसहित नौं मन्त्रीले शपथ लिएका थिए । सोही दिन नेपाली कांग्रेसबाट मन्त्री बनेर सरकारमा पार्टीको नेतृत्व गर्न लागेका प्रमुख सचेतक जन्मजय तिमिलसिनालाई शपथपूर्व पाटीबाटै रोकिएपछि किचलो बढेको हो ।

    पार्टीको संस्थापन समूहमा रहेका तिमिलसिनालाई इतर समूहमा रहेका प्रदेश अध्यक्ष अमरसिंह पुनसहितको नेतृत्वबाट तीव्र दवाव आएपछि रोकिएको थियो । त्यसपछि पनि साउन १८ गते मन्त्रीहरूले पनि कार्यविभाजन पाउने र कांग्रेसबाट पुनः जन्मजयलाई सरकारमा पठाउने तयारी गरिए पनि पुनः उनलाई रोकिएको छ ।

    पटक–पटक आफ्नो नाम पहिले चर्चामा ल्याएर विवाद बढाउने र बन्न नदिनेहरू सक्रिय भएको प्रमुख सचेतक तिमिल्सिनाको गुनासो छ । असन्तुष्ट बन्दै गएका उनले प्रमुख सचेतक पदबाट राजीनामा दिएका छन् । एमाले कांग्रेस गठबन्धन गर्दा नै मुख्यमन्त्रीसहित पाँच मन्त्रालय एमाले र पाँच मन्त्रालय कांग्रेसले पाउने र पहिलो दिन नै सरकारलाई पूर्णता दिने समझदारी गरेका थिए । तर अहिलेसम्म रोकिएको छ ।

    दुई दलको सहमतिकै समयमा दुई मन्त्रालय साना दललाई दिने समझदारी भएको थियो । यही अनुसार साना दलबीच पनि उस्तै आकांक्षा चुल्लिएको छ । अहिलेको गठबन्धनमा रहेर सरकारमा जान जनमत, लोसपा, जसपा, जसपा नेपाल, नागरिक उन्मुक्ति सबै तयारी छन् तर मन्त्रालय जम्मा दुई वटा मात्रै छन् । मन्त्री भूमिश्वर ढकालका अनुसार सरकारबारे सबै विषयमा छलफल गर्न मुख्यमन्त्री सबै मन्त्रीहरू, कांग्रेस दलका नेता डिल्ली चौधरीसहितका मन्त्रीहरु काठमाडौंमा रहेको र दुई दिनपछि मात्रै फर्कने बताए ।

    ‘तीन मन्त्री थप्न बाँकी छ, कांग्रेसबाट नाम टुंगो लागेको छैन, अशोक राईवाला जसपाबाट अवधेश त्रिपाठीको नाम आएको छ, अर्को कसले पाउने टुंगो छैन, हामी सबै काठमाडौं छौं, फर्केपछि मात्रै अघि बढ्छ’ उनले सुनाए । सरकारले पूर्णता नपाएसँगै तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्य आफैले राखेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अहिले मुख्यमन्त्रीसँग छ । लोसपा नेपाल संसदीय दलका नेता सन्तोष पाण्डेले सरकारमा जाने निर्णय भए पनि मन्त्रालयबारे टुङ्गो नलागेको बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय