• कामु प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई

  • काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देललाई कायमुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ । बुधबार मन्त्रीपरिषद बैठकले सिग्देललाई निमित्त प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय हो । 

    हालका प्रधान सेनापति प्रभुराम शर्माको आगामी भदौ २४ गते कार्यकाल सकिने भएकाले त्यस अघि नै सिग्देललाई जिम्मेवारी प्रदान गरिएको हो । नेपाली सेनामा आफ्नो कार्यकाल सकिनु एक महिना अगावै बिदामा बस्ने चलन छ । सोही कारण शर्मा साउन २४ देखि बिदामा बस्ने तयारीमा छन् ।

    जिम्मेवारी दिइएका सिग्देललाई भदौ २४ गते नै कमाण्ड हस्तान्तरण गर्ने जंगी अड्डाको तयारी रहेको जनाइएको छ । सिग्देलले आगामी तीन वर्ष नेपाली सेनाको कमाण्ड गर्नेछन् । जन्ममिति विवादमा छानबिन भएपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका थिए । त्यसपछि सिग्देल प्रधानसेनापतिको रोलक्रममा आएका थिए । उनीबारे विवाद आएपछि जंगीअड्डाले आन्तरिक छानबिन गरेर कैफियत नरहेको स्पष्ट पारेको थियो ।

    जंगीअड्डामा ३ साउन २०८१ मा आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता गौरवकुमार केसीले सिग्देलले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीबाट पहिलो पटक लिएको नागरिकता र पछि लिएको ‘प्रथम प्रतिलिपि’ मा उमेर, प्रमाण पत्र नम्बर र जारी मिति फरक नपरेको बताएका थिए । सिग्देलले नेपाली सेनामा भर्नाका क्रममा पेस गरेको प्रवेशिका परीक्षा (एसएलसी) को प्रमाणपत्र र तत्कालीन सुपिङ बहुमुखी क्याम्पस (हाल सैनिक आवासीय महाविद्यालय) बाट जारी भएको प्रमाणपत्रमा पनि जन्ममिति फरक नपरेको उनको भनाइ थियो । योसँगै कामु प्रधानसेनापति सिग्देल २६ भदौपछि नेपाली सेनाको ४५औं प्रधानसेनापति बन्ने छन् ।
     

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस