• लोकसेवा : नितु भण्डारी

    २०८१ श्रावण १४, सोमबार १७:५० मा प्रकाशित
  • भुकम्पले चर्काएको घर  गाउँबेशिमा पसिनाहरूलाई पानीझैँ खनाएर सङ्घर्षमै अस्ताएका बाकाे दैलाेको तस्बिर,  ध्वजाँ फाटेकाेजस्तो उनको हातखुट्टा , बर्षौसम्म दराजमा थन्काएको कपडा जस्तो उनको अनुहार , हजारौको बचन अनि पीडा सहेको त्यो कोमल हृदय ओहो! उनी त मेरि आमा पो हुन त ।

    कहिले आफुले सुकिलो लुगा लगाएकी अनि पेटभरि खाएकी छैनन्् तर पनि भन्ने गर्छिन यो कपडा लगाउँ राम्रो सुहाउँछ, यो खाना खाउ बाबू तिमी त हृष्टपुष्ट हुनुपर्छ । तिनै आमा आफुले गाउँघरमा गाईभैंसी, बाख्रा, कुखुरा पालेर आफ्नो जीवन गुजार्दै छोरालाई पढ्न सहर पठाउँछिन । छोराको सुन्दर भविष्यका लागि आफ्नो वर्तमानलाई धितो राखेकी ती बुढि आमाले मनमा गाठोँ पारेर अनुहारमा खुसीको लर्काे लाउँदै  बिदाईको हातहरु हल्लाउँछिन ।

    आज सम्म आमाको काखमा लड्दै, जिस्कदै अनि साना- साना कुरामा चित्त नबुझेर आमासँग रिसाउने छोरो विरानो शहरमा एक्लै हुन्छ । उता बुढी भएकि आमा पनि त्यहि छोराको आर्जन खाउँला, बुढेसकालमा साहारा पाँउला भनेर आफ्नो दु:ख गरेकी हुन्छिन। गाउँघरमा जस्तो हुँदैन बिरानो ठाउँको जीवन। उसले हरेक खानामा आमाको हात र बिरामी हुँदा त्यहि आमाले आफुलाई काखमा राखी टाउको सुम्सुम्याउँदै अब त मेरो आशा र भरोशा तिमी मात्र हौ छोरा , सानैमा बाबाले छोडेर गएपछि तिम्रै अनुहार हेरेर आजसम्म म बाचेकी छु भनेको  झलझलि सम्झिन्छ र आँखाभरि आँसु बनाउँछ । पुरै गाउँ डुल्दै हिड्ने छोरा आज काठमाडौंको एउटा सानो कोठामा थुनिएर आफ्नो पढाई सुरु गर्छ ।

    हरेक महिनाको कोठा भाडा ,खाना खर्च , पढाई खर्च साथै विविध खर्च जुटाउनकै  लागि भएपनि काठमाडौंका हरेक गल्लीमा अनि हरेक बिजुलीको पोलहरुमा टासिएका कर्मचारी आवश्यकता भएका विज्ञापनहरु खोज्दै हिड्छ। धेरै श्रम बेचेर कम आम्दानी हुने सहर त्यसै माथी बिध्यार्थी जीवन त्यहि सजिलो हुँदैन त्यै पनि ती आमाले बोलेका बचन सम्झदै आफ्नो सामान्य जागिर सगैँ सहरको पढाई सुरु गर्छ ।

    कक्षा १२ सम्म सामान्य जागिर गर्दै पढ्दै गरेको उ, बर्षौ पहिले विधुवा भएकि आफ्नी एक्लि आमाको त्यो अनुहार सम्झदै लोकसेवामा हात राख्छ। आफू सरकारी जागिरे भएर आमालाई खुसी दिने सपनाका साथ दु:खका पहाडहरु चिर्दै रातदिन मेहनतमा खटिन्छ। आमालाई पनि फोनमा अब आमा मैले यता लोकसेवा पढ्न सुरु गरे हजुरले केही चिन्ता नगर्नु हजुरको छोरो छिट्टै सरकारी जागिरे भएर गाउँ फर्किन्छु भन्दै सान्त्वना दिन्छ । आमा पनि छोराको त्यहि साहशिक बोलिले आफ्ना हरेक रात एक्लै कटाईरहेकि हुन्छिन ।

    हरेक वर्ष चाडवार्ड आउँदा आमा सगँ हुने छोरो अहिलेका धेरै चाडवार्ड आमा बिनाको त्यो एउटा सानो बन्द कोठामा बिताईरहेको हुन्छ । लोकसेवाको सबैभन्दा तल्लो तहबाट लडेको उ लोकसेवाकै सबैभन्दा माथिल्लो तहको सपना देखिरहेको हुन्छ । लोकसेवाको पहिलो परिक्षा दिन जानू अघि आमालाई फोन गर्दै आशीर्वाद मान्छ र परिक्षा दिन जान्छ। परिक्षा राम्रै गरेको हुन्छ , कोटा पनि राम्रै भएको कारण सफल हुने आशा धेरै राखेको हुन्छ तर नतिजा पत्रमा उसको नाम हुँदैन । मनमा खिन्नता हुन्छ तर पनि पहिलो अनुभव थियो भनेर चित्त बुझाउँछ। कलेजको सैद्धान्तिक शिक्षालाई निरन्तरता दिईरहेको उस्ले हार नमानी अर्को लोकसेवाको फर्म भर्छ र परिक्षा दिन्छ ।

    हरेक दिन नयाँ- नयाँ तरिकाले अध्ययन लाई निरन्तरता दिन्छ। उस्लाई किताबि ज्ञानको नशा लागिसकेको हुन्छ , बाहिरी दुनियाँमा भुल्ने उस्लाई फुर्सदै हुँदैन । यत्तिकैमा उस्को यो बर्षको पहिलो पत्रको नतिजा प्रकाशन हुन्छ , फटाफट फेसबुक खोल्छ अनि आफ्नो नाम खोज्छ हेर्दै जादाँ बिच भागतिर आफ्नो नाम देख्छ खुसी हुँदै आमालाई फोन गर्छ र भन्छ आमा मेरो पहिलो पत्र भयो अब दोस्रो पछी त लगभग खुड्किलो पार हुन्छ नि त्यसपछि त म सरकारी हुन्छु नि भन्दै आमालाई जिस्काउँछ । तिनै आमाको सपना पूरा गर्ने अठोटले दिनरात नभनि दोस्रो पत्रको तयारिमा लाग्छ ।

    यो पटक उस्ले आफ्नो जागिर नै छोडेर त्यै पत्रमा नाम निकाल्ने तयारिमा जुट्छ। फेसबुकका भित्तामा कसैले सेयर गरेका लोकसेवाका नोटहरु उस्ले आफ्ना पर्सनल डायरिमा अभ्यास गर्न सुरु गर्छ। उस्ले बिहानको खाना साझँ अनि साझँको खाना विहान खादै मात्र पढाईमा ध्यान केन्द्रित गर्छ । कलेजका लाईब्रेरी अनि पुस्तक पसलमा आउने आफ्ना सम्बन्धित किताब जम्मा गरेर कोठा नै लाईब्रेरी जस्तो बनाउँछ। उसले घरको कोठामा मात्र नभएर दिमागी कोठामा पनि हरेक ज्ञानलाई संचित गरेर राखेको छ । यत्तिकैमा उस्को दोस्रो पत्रको परिक्षा आउँछ , परिक्षा दिन्छ । मेहनत नगरेको पनि होईन लेखाई पुगेन या भाग्यमा थिईन यो पटक पनि उ दोस्रो चरणमा पुगेर असफल हुन्छ ।

    हरेक रात आफुले गरेको मेहनत र आफ्ना असफलताले पिरोल्न थाल्छ । आमाले बाबू परिक्षा कैले हो तेरो भन्दा पनि अहिलेको परिक्षा अलि पछि छ आमा पढिराखेको छु भन्छ तर आफ्नो त्यो असफलता आमालाई सुनाउन सक्दैन। यत्तिकैमा उस्को स्नातक तहको पढाई सकिन्छ । तर उसैले कल्पना नगरेको कुरा उसले आफ्नो कलेजको पढाईमा सबैभन्दा उत्कृष्ट अंक ल्याएर पास भएको हुन्छ । एकातिर असफलताको घाउ अर्को तिर भने सफलताले उसलाई स्पर्श गर्छ। उसले फेरि मेहनत गर्न छोड्दैन उसले तेस्रोपटकको लोकसेवामा आफ्नो फर्म भर्छ। उस्लाई यो पटक पहिलो र दोस्रो प्रश्न पत्र केही जस्तो लाग्दैन किनभने उसलाई किताबका हरेक लाईनमा लेखिएका अक्षर सम्म कण्ठ भैसकेको हुन्छ ।

    तेस्रोपटकमा उसले पहिलो र दोस्रो पत्रमा आफ्नो नाम निकाल्न सफल हुन्छ र अन्तिममा उसलाई लोकसेवाको अन्तरवार्ताको चरण पार गर्नुपर्ने थियो। आजसम्मका असफलतालाई बिर्सदै उसले युटुब अनि गुगोल खोल्दै अन्तरवार्ताको तयारी गर्छ। अन्तिम दिन फर्मल ड्रेस लगाएर हातमा आफ्ना शैक्षिक योग्यता सहितका कागजात बोकि अन्तरवार्ताका लागि तयार हुन्छ , आफ्नो जिन्दगीको सबैभन्दा उकालो खुड्किलो अन्तरवार्ता पनि राम्रो भएकोमा उ साच्चै आफुलाई मनमनै सरकारी कर्मचारी भएको अनुभुति गर्न थाल्यो । त्यसको नतिजाको लागि केही समय लाग्ने भएकाले आफुलाई ब्यस्त बनाउन हरेक दिन नयाँ किताब खोज्दै अध्ययन गर्न थाल्यो। समय बित्दै जान्छ उसको अन्तिम नतिजा पनि प्रकाशन भएको खबर पाउछ हतार हतार गरि वेवसाईट खोल्छ आँखा झिमिक्क नपारी मात्र आफ्नो नाम अन्तिम सम्म खोजिरहेको हुन्छ तर त्यहाँ आफ्नो नाम नदेख्दा उ छागाँबाट खसेझै हुन्छ ।

    जीवनमा सबैभन्दा पीडा र दु:खले घेरेको त्यो दिन उसको लागि जिन्दगीकै कालो दिन बन्न पुग्छ । यहि समय गाउँमा पल्लाघरे काईलाको छोरा अन्तरवार्ता पनि पास गरेर सरकारी जागिरे भएको कुरा आमालाई सुनाईदिन्छन अनि हत्तपत्त आफ्नो छोरालाई फोन गर्दै बाबू कति नम्बरमा नाम आयो तेरो ? यता त पल्लाघरे काईला अङ्कलको छोराले अन्तरवार्ता पास गरेछ भन्दै छोराको खुसी सुन्न आतुर हुन्छिन् । तर यता छोरा मुखमा कपडा च्यापेर आँखाबाट बरबरि आँसु झारिरहेको हुन्छ । आमाले बाबु -बाबु भन्दा पनि सुन्दैन पछि एक्कासि चिच्याउदै भन्छ आमा म अहिले अनि असफल भए। आमाको बोली बन्द हुन्छ , आमाले छोपेको मोबाइल पनि भुइँमा खस्छ। यत्तिकैमा छोराले पछी फोन गर्छु है आमा भन्दै फोन काट्दिन्छ। उता गाउँमा आमा छोराको असफलतामा पिरोलिन थाल्छिन यता सहरमा छोरा डिप्रेसनको सिकार हुन पुग्छ। स्नातक तहको अध्ययन पूरा पनि भयो ,भएको जागिर पनि यै लोकसेवाको तयारिले बिचमै छोड्नु पर्यो आज अन्तिम चरणको असफलताले उसको पुरै जिन्दगी अँध्यारो बनाईदियो।

    महिनौ सम्म घर जादैँन दिनरात यहि एक्लो अँध्यारो कोठामा थुनिदै आफुले गरेका संघर्ष सम्झिन्छ अनि ती बुढी भएकि आमा । कैयौंपटक आत्महत्याको प्रयास गर्छ तर आजसम्म यती भोगेकी ती आमालाई सम्झन्छ र आफुलाई सम्हाल्छ। हामी दु:खी, गरिबका लागि हैन रैछ यो सरकारी जागिर भनेर अनेकौं कुरा मनमा खेलाउन थाल्छ। महिनौ सम्म कोठामा असफलताको पिरले च्यापिएको उ आमाले रातदिन फोन गरेर बाबु एकपटक गाउँ आउ तिमी उता रुदाँ यता मलाई यता रात कटाउन गार्‍हो भो भनेपछि एउटा जेब्रा झोलामा आफ्ना दुईजोडी कपडा राखेर गाउँ जान्छ।

    छोरा देख्नेबित्तिकै आमा झम्टिएर रुन थाल्छिन्। सानो छदाँ एक गाँस भए पनि धेरै खायो भने छोरा मोटाउला भनेर खुवाएकी आमाको छोरा पढाईको पिरले सुकेको देख्दा आमा झन भक्कानिन्छिन। छोराले पनि आमालाई झम्टिदै रुन थाल्छ। एकहप्ता सम्म गाउँमा बिताएको उ सहर जाने कुरा नै गर्दैन अनि आमाले बाबु तिम्रो कलेज सुरु होला अब जाउ यता बसेर तिम्रो भविष्य बन्दैन भन्छिन। छोराले आमाको कुरा बिचमै काट्दै आमा अब म सहर जादिन मलाई जतिसक्नु हुन्छ ऋण खोज्दिनुस म बिदेश जान्छु , पढाईको ऋण एकातिर हजुरको दु:ख अर्कोतिर भन्दै मलिन हुन्छ ।

    आमाले छोराको त्यो मलिन मुहार हेर्दै भन्छिन ” छोरा मेरो यो उमेरमा तँ नै बिदेश गैस भने त म मरेपछि फाल्ने मान्छे पनि हुँदैनन् ” बरु अझ केही बर्ष त्यहि गएर पढ सकुन्जेल मैले खाना पकाएर खान्छु नसके यी गाईभैसीँ बेचौला भनेर पहिले जस्तै गरि छोरालाई बिदाई गर्छिन। छोराले पनि ती बुढी भएकि आमा र पृत्री हुनुभएका बाबालाई सम्झदै फेरि त्यहि मेहनत गर्न सुरु गर्छ। आफुलाई त्यो अवस्थाबाट यो अवस्था ल्याउन सफल भएकोमा आफैं प्रती गर्वित हुन्छ । उसले फेरि लोकसेवाको फर्म भर्छ। गाउँबाट आएको अर्को बर्षमा उसले पहिलो प्रश्न पत्रमा पहिलो नम्बरमा आफ्नो नाम निकाल्छ, केही महिनामा दोस्रो गर्दै साच्चै नै अन्तिम चरणको अन्तरवार्तामा पनि उसको नाम पहिलो नम्बर मै हुन्छ । पहिला असफलताले बगेका उसका आँसु अहिले हर्षका भएका छन्। उसले खुसी हुँदै आमालाई फोन गर्छ अनि आँखाभरि आशुँ भरेर हास्दै भन्छ : “आमा ….अब त तिमी पनि हाकिम सर कि आमा भयौ, साच्चै तिमी सरकारी जागिरेकी आमा भयौ” तिमिले आज सम्म गरेको दु:ख अनि संघर्षले उच्च स्थान पायो अब तिमी र म संगै हुनुपर्छ है आमा भन्दै भक्कानिदै रुन थाल्छ……….

    सिफारिस
    लोकप्रिय