• न्यूरोडमा पैदलमार्ग विस्तार गर्दा मेयर शाहले भ्रम फैलाएको स्थानीयको आरोप

  • काठमाण्डौ – काठमाण्डौका न्यूरोडका बासिन्दाहरुले पैदलमार्ग बढाउने क्रममा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् । वडा नम्बर २२, २३ र २४ का स्थानीयले संयुक्त विज्ञप्ति निकालेर यस्तो आरोप लगाएका हुन् ।

    मेयरले शाहले निकटका संचारकर्मीहरूलाई प्रयोग गरेर एकोहोरो ढङ्गले प्रचारप्रसार गर्ने र राजनीतिक दलका नेताविरूद्ध गाली गर्दै अशोभनिय कार्य गरेको पनि स्थानीयको आरोप छ । उच्च अदालतले महानगरको पक्षमा फैसला गरेपछि महानगरले न्यूरोडमा फेरि पैदलमार्ग विस्तार शुरु गरेको छ । यहि विषयमा शुक्रवारदेखि स्थानीय र महानगरबीच विवाद चलिरहेको छ ।

    स्थानीयको विज्ञप्तिमा महानगरपालिका र स्थानीयीबीच झगडा कसरी सुरूआत भएको भनेर उल्लेख गरिएको छ । नगरसभामा न्यूरोड पेटी सुधार शीर्षकमा प्रस्ताव गरिएको बजेट पुस्तिका आउँदा पेटी विस्तार छापेर आएको उनीहरूले बताएका छन् । बजेट पुस्तिकामा फरक छापिएर आएसँगै सम्बन्धित तीन जना वडाअध्यक्षहरूले यस विषयमा महानगर प्रमुख र विभागीय कर्मचारीलाई प्रष्ट पारिदिन भनेको  विज्ञप्तिमा उल्लेख छ ।

    त्यतिबेला महानगर कर्मचारीले अहिले बजेट विनियोजन मात्र रहेको र पछि वडासँग समन्वय गरेर मात्र काम शुरु गर्ने भनेर जवाफ दिएको तर एक्कासी वडा कार्यालयसँग समन्वय नै नगरी नगरसभाबाट पारित भैसकेकाले कार्यान्वयन गर्नुपर्ने अडान मेयरले लिएको आरोप स्थानीयको छ ।

    त्यो योजना खारेज गर्न पालिकाका ४२ मध्ये ३८ जना सदस्यहरूले हस्ताक्षर गरी पत्र बुझाउँदा मेयर शाहले स्वीकार गर्नुभएको पनि विज्ञप्तिमा उल्लेख छ । पेटी विस्तार जस्तो सामान्य विषयलाई राष्ट्रिय बहसको विषयको बनाएको भन्दै तीनै वटा वडाका अध्यक्षहरूले आपत्ति जनाएका छन् ।  

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय