• २२ सदस्यीय मन्त्रिमण्डलमा दलित शून्य, दुई जना मात्रै महिला

  • काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २१ मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । आज (सोमबार) बिहान ११ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री, दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरूले शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री ओलीले दलित शून्य २२ सदस्यीय मन्त्रिपरिषदमा दुई जना महिला मन्त्री नियुक्त गरेका छन् । आरजु राणा देउवा परराष्ट्र र विद्या भट्टराई शिक्षा मन्त्री नियुक्त भएका छन् ।

    प्रधानमन्त्री ओलीले प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्री नियुक्त गरेका छन् । पौडेललाई अर्थ र सिंहलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । आकांक्षी सांसदहरू धेरै भएकाले एकै पटक मन्त्रिपरिषद्लाई पूर्णता दिने नीति ओलीले अपनाएका छन् । तर यसरी मन्त्रिपरिषद् गठन गर्दा समावेशीतामा  प्रधानमन्त्री ओलीको ध्यान नपुगेको देखिएको छ ।

    आइतबार रातिसम्म मन्त्री बन्ने निश्चित भएका पार्टी सचिव छविलाल विश्वकर्मालाई सोमबार बिहान मन्त्री बन्ने सूचीबाट हटाइएको छ । विश्वकर्मा एमालेमा चुनाव जित्ने थोरै सिनियर नेतामध्येका हुन् ।
    पार्टीका प्रभावशाली नेताहरू चुनावमा पराजित हुँदा विश्वकर्मामा रुपन्देही–१ बाट विजयी भएका थिए । यस्तै अर्को सत्ता साझेदार नेपाली कांग्रेसले पनि दलित समुदायका कुनै सांसदलाई मन्त्री बनाउन आवश्यक देखेन । एमालेमा जस्तै कांग्रेसभित्र पनि सहमहामन्त्री जीवन परियारलाई नै मन्त्री बनाउने निश्चित गरिएको थियो ।

    संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले परियारलाई मन्त्री सिफारिस गरेका थिए । कोइरालाकै कोटाबाट मन्त्री बन्ने पक्का भएकाले उनी शपथ लिने तयारीमा थिए । तर अन्तिम समयमा उनको नाम मन्त्रीको सूचीबाट काटियोे । सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट पनि दलित समुदायका सांसद मन्त्री भएनन् । सबै मन्त्रालयले नेतृत्व पाउँदा दलित समुदायबाट एक जना पनि मन्त्री बन्न पाएनन् ।

    संविधानले २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइने सुविधा दिएको छ । त्यसैले प्रधानमन्त्री ओलीले चाहे अब दलित समुदायका सांसद राज्य मन्त्रीसम्म बन्न सक्छन् ।  यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै जस्तो मन्त्रिपरिषद ओलीको पनि बनेको छ । जहाँ दलित समुदायका मन्त्री छैनन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस