• सिमलताल पहिराे : ३ जना पौडिएर बाँचे, ‘५ पटक ठक्कर खाएर बस नदीमा पुगेको थियो’

  • चितवन – नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गएको पहिराेले त्रिशूली नदीमा बस खस्दा बाँच्न सफल भएका तीन जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 
    एक जनाको भरतपुर अस्पतालमा र दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    उहाँहरू हिजाे बेलुकी साढे ७ बजे काठमाण्डाैबाट रौतहटकाे गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार हुनुहुन्थ्यो । उहाँहरूमध्ये रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताउनुभयो । ‘बसमा हामी ३० देखि ३५ जना थियौँ । त्यसमध्ये तीन जना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निस्कियाैँ, पौडिएर बाँच्न सफल भयौँ ।’

    ‘खाना खाएर बस चढेको एक घण्टापछि बस दुर्घटना भएको उहाँले सुनाउनुभयो । ‘हामी गाडीबाट कसरी बाहिर निस्कियौँ भन्नेसमेत थाहा छैन, एकैपटक पानीमा झरेपछि मात्र सबै थाहा पायौँ’, उहाँले थप्नुभयो, ‘बस पानीमा धेरै मुनि पुगेको थियो । हामी झ्यालबाट खसेपछि पौडी खेल्दै खेल्दै नदी किनारमा आएर बाँच्न सफल भयौँ ।’ टाउकोमा चोट लागेका यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    उपचार गरेर फर्किँदै गरेका राैतहटकाे गरुडा नगरपालिका–९ का जुगेश्वर राय यादवले आफ्नो परिवारका चार जना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको सुनाउनुभयो । बसमा उहाँका ३५ वर्षीय छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनी र दुई वर्षीय नाती सवार हुनुहुन्थ्यो । काठमाण्डाैमा उपचार गरेर घर फर्कँदै गर्दा उहाँको परिवारका पाँच जना दुर्घटनामा पर्नुभएको हो ।

    ‘काठमाण्डाैमा छ दिनसम्म उपचार गरेर फर्किँदै थियौँ । एक्कासी नसोचेको घटना घट्यो । पाँचपटक ठक्कर खाएर बस बल्ल नदीमा पुगेको थियो’, उहाँले सम्झिनुभयाे, ‘पहिरोमा परेर तल खस्दा सबै यात्रु कराइरहेका थिए । अरूको अवस्था के होला, अहिलेसम्म थाहा छैन । बसको चालक र सहचालक पनि त्यही डुब्नुभयो ।’

    बस पहिरोमा पर्नुअघि आधा घण्टा जति जाम परेको भन्दै उहाँले सुनाउनुभयो, ‘जाम खुलेसँगै बिस्तारै अघि बढ्ने क्रममा त्रिशूलीमा बस खसेको हो । बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भएँ, अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ ।’ उहाँको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ता ‘डिस्चार्ज’ हुनुभएकाे छ । अहिले बेपत्ता बसकाे खोजी कार्य जारी छ । नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली बसको खोजी र सवार यात्रुको उद्धारमा लागेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

    यसैबीच नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई वटा बसमध्ये  एउटामा सात जना भारतीय नागरिक रहेका खुलेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय