• विश्वासकाे मत नपाएसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त

  • काठमाण्डाै – प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वतः पदमुक्त हुनुभएको छ । अब नयाँ प्रधानमन्त्री नियुक्त नहुन्जेल उहाँ कामचलाउ हैसियतमा रहनुहुने छ ।

    नेपालको संविधानको धारा १०० को उपधारा (३) अनुसार संसद्मा विश्वासको मत प्राप्त गर्न नसक्ने प्रधानमन्त्री स्वतः पदमुक्त हुन्छन् ।

    सरकार गठन भएको १८ महिनामा प्रतिनिधि सभामा ५ औँ पटक विश्वासको मतको प्रस्तावमा आज मतदान भएको हो । आजको बैठकमा २ सय ५८ जना सांसद उपस्थित भएकामा प्रचण्डको विपक्षमा १ सय ९४ जना र पक्षमा ६३ जना सांसदले मत दिए । एक जनाले ‘मत दिन्नँ’ भन्ने पक्षमा आफ्नो मत जाहेर गरे । २ सय ७५ सदस्यीय तल्लो सदन प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ सिट आवश्यक पर्छ ।

    यसअघि ४ पटक विश्वासकाे मत प्राप्त गर्नुभएका प्रचण्ड यसपटक असफल हुनुभयाे । २०७९ सालको मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभाको चुनावपछि संसद्‍मा तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

    प्रधानमन्त्रीमा नियुक्त भएको १५ दिनपछि विश्वासकाे मत लिँदा उहाँले २ सय ६८ जनाको मत प्राप्त गर्नुभएको थियो । एमालेलगायतका दलले समर्थन फिर्ता लिएपछि २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिँदा उहाँले १ सय ७२ मत प्राप्त गर्नुभयो । यस्तै २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रोपटक विश्वासको मत लिँदा प्रचण्डले १ सय ५७ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै जनता समाजवादी पार्टी नेपालले समर्थन फिर्ता लिएपछि गएको जेठ ७ गते विश्वासको मत लिँदा उहाँले १ सय ५७ मत प्राप्त गर्नुभयो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय