काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू पार्टीमा नरहको बताएका छन् । महाधिवेशनमा समेत उपस्थित नरहेका आलेले आफू पार्टीमा सक्रिय नरहेको जानकरी दिएका हुन् । असार १६ गतेदेखि शुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउदै आलेले अब त्यो पार्टीमा आफू नरहने जनाए ।
नेकपा एसको महाधिवेशन सकिनुअघि भारतका विभिन्न सहरको भ्रमण सकेर काठमाडौं फर्किएका छन् । उनी नेकपा एस भने नफर्किने बताउँछन् । उनले भने, ‘मैले संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालकै अगाडि म तपाईको पार्टीमा रहँदिन भनेको थिएँ । त्यो पार्टीमा रहन्न, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु । अन्य पार्टीमा जाने बारे अहिले सोचेको छैन ।’
‘यो पार्टीको राजनीतिक दिशा भएन, नेताहरूको हिम्मत पनि देखिएन’, आलेले भने, ‘त्यहीकारण म यो पार्टीमा विगत आठ महिनादेखि सक्रिय छैन । यस बीचमा म भारत भ्रमण गरेर फर्किएको छु ।’ आलेले एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरु पदाधिकारी रहेको बताए । उनले भने, ‘म त तीन पटक लगातार निर्वाचित सांसद हुँ ।’ नेकपा एकीकृत समाजवादीले आज सार्बजनिक गरेको ९३ जना केन्द्रीय समितिको सूचीमा आलेको नाम समावेश गरिएको छैन ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।