• द्रुतमार्गको लेनडाँडामा जोडी सुरुङ नै छिचोलियो, धेद्रे र महादेवटार असोजसम्म छिचोलिने

  • काठमाण्डाै – काठमाण्डाै–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाअन्तर्गत मकवानपुरको लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ ।

    नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाण्डाै–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङको एउटा सुरुङ आज छिचोलिएको सेनाले जनाएको छ ।

    जोडी सुरुङमध्ये १ हजार ६ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाण्डाैतर्फ आउने सुरुङमार्ग  छिचोलिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले अनलाइन माध्यममार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गर्नुभएको थियो । प्रधानसेनापतिले तोकिएको समयमा नै सुरुङमार्गहरू छिचोलिने क्रम रहेकोमा खुशी व्यक्त गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई जिम्मेवारी प्राप्त राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    यसअघि गएको जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाण्डाैबाट निजगढतर्फ जाने १ हजार ६ सय ३३ मिटर लम्बाइको सुरुङमार्ग र जेठको ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाण्डाैतर्फ आउने सुरुङमार्ग छिचोलिएका थिए । धेद्रे–लेनडाँडा सुरुङमार्गकाे निर्माण ठेक्का चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको थियो ।

    अब काठमाण्डौबाट निजगढतर्फ जाने धेद्रे सुरुङ र महादेवटार सुरुङमार्ग आउँदो असोजसम्म छिचोलिने सेनाले जनाएको छ । कुल ७१ किलोमिटर लामो द्रुतमार्गमा सुरुङको मात्र हिस्सा साढे १० किलोमिटर छ । आयोजनामा ६ वटा सुरुङमार्ग पर्नेमा यसअघि ४ किलोमिटर ३२ मिटर सुरुङ निर्माण भइसकेको छ । यस्तै यस आयोजनामा बन्ने ८९ वटा पुलको लम्बाइ १२ किलोमिटर ८८ मिटर रहेको छ ।

    द्रुतमार्ग निर्माणलाई सेनाले ११ वटा खण्डमा विभाजन गरेको छ । जसमध्ये १ देखि ७ खण्ड र खण्ड १० मा ठेक्का लागेर कामसमेत भइरहेको छ । केही प्याकेजको ठेक्का लाग्नै बाँकी रहेको छ । २ वर्षमा निर्माण सक्नेगरी २०७४ सालमा द्रुतमार्गको जिम्मा नेपाली सेनाले पाए पनि अहिलेसम्म केही प्याकेजको ठेक्का नै लागेको छैन । सरकारले आयोजनाको म्याद थपेर २०८३ सालको चैतलाई तोकेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस