• शववाहन नभएपछि डोजरमा राखेर शव व्यवस्थापन

  • तनहुँ। तनहुँमा एउटा पनि शववाहन नभएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापनमा समस्या भएको छ। कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहनको अभाव खड्किएको हो।

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले शववाहनको खोजी सुरू गरेको छ। व्यावसायिक क्षेत्रबाट हुन सक्ने सामाजिक उत्तरदायित्वलाई विचार गर्दै शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा रही सञ्चालन हुने गरी दमौली अस्पताललाई एक थान शववाहन उपलब्ध गराइदिन केन्द्रले सूर्य नेपाल लिमिटेडलाई अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

    स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले शववाहन नहुँदा मृत्यु हुने सङ्क्रमितको शव व्यवस्थापनका लागि समस्या हुने बताए। उनकाअनुसार व्यास नगरपालिका बाहेकका स्थानीय तहमा शववाहन नहुँदा समस्या भएको छ।

    शववाहनको अभावमा देवघाट गाउँपालिकामा डोजरमा राखेर कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ। देवघाट–५ निवासी ६८ वर्षीया महिलाको शव आफन्तले डोजरमा राखेर घाटसम्म पुर्‍याएका हुन् । गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले शववाहनको आवश्यकता भए पनि गाउँपालिकाको भौगोलिक अवस्थाका कारण शववाहन किन्ने योजना नबनाइएको बताएका छन्।

    “देवघाटको वडा नं १, २, ३, ४ दुर्गम ठाउँ हो । त्यहाँ सङ्क्रमितको मृत्यु भयो भने पीपीइ लगाएर आफन्तले शव बोकेर लैजानुपर्छ, त्यहाँ शववाहन लैजान सक्ने स्थिति छैन”, थापाले भने। थापाका अनुसार गाउँपालिकासँग एम्बुलेन्स पनि छैन। व्यास नगरपालिकाले भने एउटा शववाहन भाडामा लिएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय