• मनसुन भित्रिएको १३ दिनसम्म पनि कर्णाली र सुदूरपश्चिममा पुगेन, आज केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

  • काठमाण्डौ – नेपालमा मनसुन भित्रिएको १३ दिन भैसक्दा पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा अझै मनसुनी प्रणाली पुग्न सकेको छ । जुन १० तारिख अर्थात् गएको जेठ २८ गते कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरैजसो र लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म पुगेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिब अधिकारीले जानकारी दिनुभयो ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । मनसुन नपुगे पनि कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पानी भने पर्दै आएको छ । पश्चिमी वायुको प्रभाव कम नभएकोले मनसुन फैलन समय लागेको मौसमविद् अधिकारीले बताउनुभयो । सामान्यतया मनसुन भित्रिएको एक हप्ता आसपासमा देशभर फैलने गरेकोमा यस वर्ष केही ढिला भएको हो । केही दिनमै मनसुन देशभर फैलने महाशाखाले जनाएको छ ।

    यसैबीच आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

    आज दिउँसो मौसम देशभर नै आंशिकदेखि साधारणतया बदली रहने छ । राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।  

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय