• सातवटै प्रदेशको बजेटमा कृषि, पूर्वाधार, पर्यटन र सूचना प्रविधि क्षेत्रमा प्राथमिकता

  • काठमाण्डौ – सातवटै प्रदेशले आउँदो आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । सबै प्रदेशको बजेटमा कृषि, पूर्वाधार, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्र प्राथमिकतामा परेको छ । सबै प्रदेशको गरी कुल दुई खर्ब ७८ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक भएको छ । जुन चालू आर्थिक वर्षको तुलनामा झन्डै दुई अर्ब रुपियाँले कम हो ।

    आन्तरिक स्रोत परिचालनमार्फत राजस्व सङ्कलन बढ्ने अवस्था नदेखिएको र संघले कतिपय शीर्षकका अनुदान कटाएपछि प्रदेशमा बजेटको आकार घटेको हो । कोशी प्रदेशले चालू आर्थिक वर्षको तुलनामा ८६ करोड घटाएर आउँदो आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

    मधेस प्रदेशले चालू आर्थिक वर्षकोभन्दा करिब २२ करोड रुपैयाँ घटाएर ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको छ । बाग्मती प्रदेशले चालू आर्थिको वर्षको तुलनामा झन्डै दुई अर्ब रुपैयाँ बढाएर आउँदो आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ ।

    गण्डकी प्रदेशले पनि चालू आर्थिक वर्षको तुलनामा करिब एक अर्ब रुपैयाँ घटाएर ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशले चालू आर्थिक वर्षको तुलनामा डेढ अर्बले घटाएर ३८ अर्ब ९५ करोड ९५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

    कर्णाली सरकारले चालू आर्थिक वर्षको तुलनामा दुई अर्ब रुपैयाँले ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । सुदूरपश्चिम सरकारले दुई अर्ब रुपैयाँ बढाएर ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय