• कोशीको मुख्यमन्त्रीमा आङबो र कार्कीको दावी पेस : कांग्रेस विभाजित, राप्रपा तटस्थ

  • मोरङ । कोशी प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर आङ्बो र केदार कार्कीले दाबी गरेका छन् । दुवै जनाले बहुमत (४७) प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

    गठबन्धनको बिहीबार काठमाडौंमा भएको बैठकले माओवादी प्रदेश संसदीय दलका नेता आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । त्यसलगत्तै उनले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । कांग्रेसको डा. शेखर कोइराला पक्षधर कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरेका हुन् । उनलाई कांग्रेसका ८ जना प्रदेशसभा सदस्यले साथ दिएका छन् ।

    गठबन्धनले मुख्यमन्त्री बनाउने निर्णय गरेपनि आङ्बोलाई कांग्रेसको संस्थापन उृसरण्इतरका प्रदेशसभा सदस्यले साथ नदिएको र उनीहरूले केदार कार्कीलाई समर्थन जनाएको बताइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले धारा १६८ को उपधारा ५ बमोजिम भोलि अपरान्ह ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

    त्यही व्यवस्थाका आधारमा कांग्रेसको इतर समूह तथा एमालेका प्रदेशसभा सदस्यको साथ लिएर कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । आङ्बोले पनि ४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

    उनले गठबन्धनमा रहेका कांग्रेससहित माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभाको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीका रूपमा कसलाई मान्यता दिन्छ भन्ने यकिन छैन । यता कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बसेको छ ।

    ९३ सदस्यीय प्रदेश सभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेस २९, माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसद छन् । ६ सांसद भएको राप्रपा तटस्थ बसेको छ । ‘हामीले कसैलाई समर्थन गरेका छैनौं । भोलि बिहान ८ बजे बस्ने पदाधिकारी बैठक बसेर निर्णय लिन्छौं,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने । प्रदेश प्रमुखले मुख्यमन्त्रीको दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय