• नौं किलो सुन तस्करी प्रकरण : राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर

  • काठमाडौं । सरकारी वकिलले विद्युतीय चुरोट (भेप) मार्फत नौं किलो सुन तस्करी प्रकरणमा चार जनाविरूद्ध मुद्दा दायर गरेको छ । सरकारी वकिलको कार्यालयले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनाविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

    महरासहित सर्लाही घर भई काठमाडौंको नागार्जुन नगरपालिका–४ सितापाइला बस्ने ३९ वर्षीय लोकेन्द्रकुमार पौडेल, बेल्जियमका नागरिक ३९ वर्षीय दावा छिरिङ र काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धका ५७ वर्षीय निमा गुरूङविरूद्ध मुद्दा दायर भएको हो । ती जना प्रहरी हिरासतमा छन् भने निमा फरार छन् ।

    उनीहरुविरुद्ध तीन वटा (आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराध सम्बन्धी) कसुरमा मुद्दा दायर गरिएको सरकारी वकिलले जनाएको छ । १० पुसमा फ्लाइ दुबईबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हाङसनले ल्याएको ७३० वटा भेपभित्र नौं किलो सुन बरामद भएको थियो ।

    यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व सभामुख कृष्णबहादुर महराको बयान पनि लिएको थियो । तर, सीआईबीले पूर्व सभामुख महरालाई भने प्रतिवादी नबनाई सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय