• गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध

  • गुल्मी । निरन्तरकाे वर्षाका कारण पहिराे खसेपछि गुल्मीको रिडी–वामीटक्सार र रिडी–अर्घाखाँची सडक खण्ड अवरुद्ध भएकाे छ। सत्यवती गाउँपालिका-५ बाँदरेभिरमा पहिराे खसेपछि रिडी–वामीटक्सार सडक गएरातिदेखि अवरुद्ध भएकाे हाे ।

    यस्तै, रुरुक्षेत्र गाउँपालिका-१ साखरमा गएकाे पहिराेका कारण रिडी–अर्घाखाँची सडक हिजाे दिउँसाेदेखि बन्द छ । यी सडक खण्ड अवरुद्ध भएपछि गाडीबीच बाटाेमै राेकिएका छन् ।

    रिडी–वामीटक्सार सडककाे पहिराे बिहानैदेखि पन्छाउने काम भइरहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यस्तै, रिडी–अर्घाखाँची सडक खण्डमा पनि पहिरो पन्छाउने काम भइरहेको तर ठूला ढुङ्गा खसेका कारण सडक सञ्चालनमा ल्याउन समस्या भइरहेकाे बताइएकाे छ ।

    गएकाे तीन दिनदेखिकाे लगातारकाे वर्षाका कारण गुल्मीकाे तम्घास आउने ग्रामीण सडकहरु पनि बीचबीचमा अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरो जान सक्ने क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन र सुरक्षित ठाउँमा बसाेबास गर्न आग्रह गरेको छ । जनार्दन घिमिरे, उज्यालो

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय