• गुल्मीमा झण्डै ४ सय किशोरी आमा, २० वर्ष नपुग्दै दुई सन्तान

  • गुल्मी । गुल्मीमा करिब चार सय किशोरी आमा बनेका छन् । जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यको भनाइ छ ।

    उनका अनुसार गर्भवती किशोरी आमा बन्नेहरुमा धेरैजसो विपन्न परिवारका छन् । कतिपय किशोरीहरूले स्कुल पढ्दापढ्दै १६ वर्षको उमेरमै बिहे गर्ने र १९ वर्षमै दुई सन्तान जन्माइसकेका हुन्छन् । बीस वर्ष उमेर नपुग्दै विवाह गरेका कारण विवाह दर्ता गराउन पनि नमिल्ने उनको भनाइ छ ।

    कार्यालयको तथ्यांकअनुसार तीन हजार पाँच सय ३४ आमाहरूले गर्भवती भएपछि पहिलो पटक स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराएका छन् । तीमध्ये २० वर्षमुनिका मात्र तीन सय ८१ जना रहेको तथ्यांक व्यवस्थापक मदन पालले जानकारी दिनुभयो । बीस वर्ष नपुग्दै किशोरी आमा बन्नेमा सबैभन्दा धेरै रेसुङ्गा र मुसीकोट नगरपालिकामा छन् । दुवै नगरपालिकामा ५२/५२ जना किशोरी आमा छन् ।

    मदाने गाउँपालिकामा ४०, सत्यवतीमा ३८, धुर्कोटमा ३५, इस्मामा ३३, चन्द्रकोटमा २६, मालिकामा २१, गुल्मी दरबारमा १९, रुरुक्षेत्रमा १२, कालीगण्डकीमा १७ र छत्रकोटमा ६ जना रहेका छन् । जिल्लामा पछिल्लो तथ्यांक अनुसार कूल तीन सय ५१ जना २० वर्षमुनिका आमा रहेको कार्यालयले जनाएको छ ।

    सामाजिक अभियन्ता तथा अधिवक्ता हीरा कुँवरले २० वर्ष नपुग्दै विवाह गर्ने आमाको सङ्ख्या बढ्नु चिन्ताजनक रहेकाले सचेतना आवश्यक रहेको बताए। मुलुकी देवानी संहिता, २०७४ मा महिला र पुरुषबीच विवाह हुनुपर्ने उमेर २० वर्ष तोकिएको छ । कानुनअनुसार कम उमेरमा विवाह गरे विवाह नै बदर हुनेदेखि तीन वर्ष कैद र तीस हजार जरिवानासम्मको व्यवस्था गरिएको छ । कम उमेरमा विवाहलाई रोक्न समुदाय र विद्यालयस्तरमा कानुनी सचेतना अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिए।

    कम उमेरमा गर्भवती हुँदा बच्चा खेर जाने, समय नपुग्दै बच्चा जन्मिने, बच्चालाई क्षारे हुने, आमाको पाठेघरको मुख च्यातिने, बढी रक्तस्राव हुने र बच्चा जन्मिसकेपछि आमालाई मानसिक समस्या उत्पन्न हुने जोखिम हुन्छ । बाल विवाहको न्यूनिकरणका लागि स्थानीय सरकारले न्यूनीकरणका लागि किशोरकिशोरी केन्द्रित कार्यक्रम र अभियान सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय