• ग्वालिचौर समाज कल्याण केन्द्रको तीज गीत तथा नृत्य प्रतियोगीता सम्पन्न

  • बागलुङ। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ग्वालिचौर समाज कल्याण केन्द्र बडिगाड गाउँपालिका-५ ग्वालिचौर बागलुङले आयोजना गरेको तीज गीत तथा नृत्य प्रतियोगीता सम्पन्न भएको छ ।

    केन्द्रले हरेक वर्ष तीजको अवसरमा आयोजना गर्दै आएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । सो अवसरमा सामुहिक, खुल्ला तथा समुहगत रुपमा प्रतिष्प्रधा गराईएको थियो । कार्यक्रममा सहभागी ८ वटा आमा समुहलाई नगद ५ हजार र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

    त्यस्तै खुल्ला तीज गीत तथा नृत्य प्रतियोगीता तर्फ ४ समुहको सहभागीता रहेकोमा भानु माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै नगद रु. १५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ ।

    त्यस्तै द्धितिय भएको पौँदीटारी आधारभूत विद्यालयले नगद रु. १२ हजार ५ सय ५५, तृतीय हुने खार माध्यमिक विद्यालयले नगद रु. ९ हजार ५ सय ५५ र सान्त्वना हुन सफल बाल क्लव भानु माविले नगद रु. २ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ ।

    कार्यक्रममा मौलिक तीज गीत तथा मौलिक संस्कृति सहित विभिन्न भेषभूषामा उपस्थित प्रतियोगीहरुले समसामयिक विषयमा आफ्नो प्रस्तुती राखेका थिए । अधिकांश प्रतियोगीहरुले आफ्नो गीत मार्फत वैदेशिक रोजगारीले निम्ताएको सामाजिक तथा पारिवारिक विचलन र फेरिँदै गरेको तीज र संस्कृति प्रति सन्देश प्रवाह गरेका थिए । सो अवसरमा कार्यक्रमलाई आर्थिक, भौतिक तथा विभिन्न माध्यमबाट सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान समेत गरिएको थियो ।

    कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वनले केन्द्रले आयोजना गरेको तीज गीत तथा नृत्य प्रतियोगीताले मौलिक संस्कृति संरक्षणमा मद्धत पुगेको बताउनुभयो । उहाँले पछिल्लो समय तीजको मौलिकता हराउँदै गएको भन्दै परम्परागत शैलीबाट तीज गीतहरु गाउने र नाच्ने प्रचलन कम हुँदै जानु दुखद भएको बताउनुभयो ।

    कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य, पूर्व वडाध्यक्ष अर्जुन प्रसाद खरेल, भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराज खरेल लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    ग्वालिचौर समाज कल्याण केन्द्रका अध्यक्ष मिन बहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य शर्मिला शर्मा खरेलको स्वागत मन्तव्य र उपाध्यक्ष रामचन्द्र खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय