• पाल्पाको ऐतिहासिक भगवती जात्रा भोली

  •  २० भदौ,पाल्पा । नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा ऐतिहासिक रणउजिरेश्वरी भगवतीको रथयात्रा बिहीबार निकालिँदै छ।

    २०३ औं संस्करणको रूपमा जात्रा निकाल्न थालिएको हो। विशेषगरी भगवती जात्राको रूपमा प्रचलित छ। जात्राको तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार महर्जनले बताए। रथको मर्मत गर्नुका साथै मन्दिर सजावट गर्ने काम सम्पन्न भएको छ। ९ वटा उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको छ। जिम्मेवारी अनुसार  उपसमितिका सदस्यले काम गरिरहेको उनले बताए। 

    जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र नेपाली सेनाका बलाधिकृत  रथी सरोजप्रताप राणाको उपस्थिति रहने अध्यक्ष महर्जनले बताए। ‘५० हजारभन्दा बढी जात्राको अवलोकन गर्न आउने आयोजकको अनुमान छ। पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, रूपन्देही अर्घाखाँची, काठमाडौं, पोखरा लगायताका ठाउँबाट दर्शनार्थी आउने छन्’, उनले भने, ‘जात्राको व्यवस्थापन गर्न आवश्यक तयारी गरेका छौं। दर्शनार्थीको सुरक्षा लागि प्रहरी, स्वयंसेवक परिचालन गरिने छ।’ जात्रामा सहभागीका लागि ठाउँठाउँमा खानेपानीको समेत व्यवस्था मिलाएको उनले बताए। 

    साइतअनुसार बिहिबार दिउँसो सवा १२ बजेदेखि साढे १२ बजेसम्म भगवतीको रथ उठाइने सचिव प्रकाशनाथ गोंगलले बताए। रथयात्राले तानसेन बजार परिक्रम गर्नेछ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय