• एमाले लुम्बिनी अधिवेशन अपडेट : नेतृत्व चुन्न मतदान सुरु

  • १९ भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरु गरिएको हो ।

    रातको समयमा मतदान गराउँदा राम्रो सन्देश नजाने भएकाले मंगलबार बिहान मतदान गराइएको निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।
    सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका भएपनि अध्यक्ष पदका आकांक्षी पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरि रिजालबीच सहमति जुट्न नसकेपछि अधिवेशन निर्वाचन प्रक्रियामा गएको हो । दुई दिनका लागि आयोजना भएको अधिवेशन सहमतिको प्रयासकै नाममा थप दुई दिन लम्बिएको छ ।
    गुटको अन्त्य भएको घोषणा गरेको एमालेको प्रदेश अधिवेशनमा दुई समूहमा विभाजित भएर अध्यक्ष पदका उम्मेदवारले प्यानसहित प्रचारप्रसार सुरु गरेका छन् । सचिव पदमा बाहेक अन्य सबै पदाधिकारी पदमा दुवै पक्ष प्यानलसहित उम्मेदवार लिएर प्रचारमा हिँडेका छन् । सचिव पदमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले अहिले बिहान ८ बजेबाट मतदान सुरु गराएको हो । सोमबार राति १० बजेबाट मतदानको तयारी गरेको भएपनि प्रशासनको आग्रहमा मंगलबारलाई सारिएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय