• राष्ट्रपतिद्वारा सर्वदलीय वैठक आह्वान

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार विहान ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट निरन्तर संसदमा अवरोध भएपछि राष्ट्रपतिले यस विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

    मंगलबार बिहान साढे ८ बजेका लागि शीतल निवासमा सर्वदलीय बैठक आह्वान भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ । जसअनुसार बैठकमा प्रधानमन्त्री र सभामुखका साथै शीर्ष नेताहरु र प्रमुख सचेतक, सचेतकलगायतको सहभागिता रहनेछ । सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उच्चस्तरीय न्यायिक छलफल गठनको माग राख्दै गत साउन १० देखि संसद् बैठक अवरुद्ध पार्दै आएको छ । यो बीचमा विभिन्न तहमा छलफल भए पनि सहमति जुट्न नसकेपछि राष्ट्रपतिले अग्रसरता बढाएका हुन् ।

    आजै मात्रै पनि प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा सर्वदलीय बैठक राखेका थिए । तर उक्त बैठक निष्कर्षविहीन सकिएको छ । आजै सभामुख देवराज घिमिरेले पनि सत्ता पक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरुसँग संसदको अवरोध खुलाउनेबारे छलफल गरेका थिए । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुनकाण्ड छानविनका लागि उच्चस्तरीय संसदीय समिति गठन हुनुपर्ने अडान कायम राखेपछि छलफल निष्कर्षविहीन बन्न पुगेको थियो । अब राष्ट्रपतिले अग्रसरता लिँदै दलका नेताहरुलाई शीतल निवासमा बोलाएर सहमतिको लागि आग्रह गर्ने बताइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय