• आइतबारदेखि संसदको अवरोध हट्छ : प्रधानमन्त्री

  • काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (आइतबार) संसदको अवरोध हट्ने बताएका छन् । आज (शनिबार) स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले संसद् गतिरोध अन्त्यका लागि आफू निरन्तर लागिरहेको बताए ।

    उनले आज (शनिबार) पनि आफूले संसद् अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाए । शनिबार साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् बैठक सुसञ्चालन हुनेमा आफू आशावादी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    ‘हामीले निरन्तर पहल गर्दै आएको तपाईंहरूलाई थाहा छँदैछ । हिजो मात्रै पनि सभामुखजी बालुवाटार नै उहाँ आउनु भयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौँ । आशा छ भोलि सदन खुल्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
    प्रधानमन्त्री दाहालले संसद् अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि बताएका छन् । हङकङबाट भित्रिएको सुन तस्करी प्रकरण उच्चस्तरीय संसदीय छानविन समितिमार्फत हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदको दुबै दिन लामो समयदेखि अवरुद्ध पार्दै आएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय