• सदनको अवरोध खुलाउन एमाले सहमत : सुन प्रकरणमा गृहमन्त्रीले जवाफ दिने

  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले दुई सातादेखि अवरुद्ध संसद बैठक सञ्चालन गर्न सहमत भएको छ ।
    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा एमालेले यस्तो सहमति जनाएको हो ।

    गत साउन ३ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने भएपछि एमाले संसदको अवरोध खुलाउन तयार भएको हो । बैठकमा दलका अन्य नेताहरुले पनि सुन तस्करी प्रकरणबारेमा बोल्ने भएका छन् । एमालेका सचेतक महेश बर्तौलाले गृहमन्त्री श्रेष्ठको जवाफ सुनेपछि थप निर्णय लिने बताएका छन् । यदि गृहमन्त्रीको जवाफमा चित्त नबुझेमा फेरि संसदमा अवरोध रहने उनले बताए ।

    बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए । सुनकाण्ड अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय