• सुन तस्करीबारे सांसदको मुख थुन्न सरकार आफैले संसद बैठक चल्न दिएन : ओली

  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीबारे सांसदको मुख थुन्न सरकार आफैले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन् ।

    पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरूलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद् बैठक सूचना टाँस गरेर स्थगित गर्न बाध्य बनाएको ओलीको जिकीर थियो । तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिने, नभए संसद् बैठकलाई सञ्चालन नगर्ने सरकारको हर्कतका कारण संसद् बैठक सूचना टाँस गर्दै स्थगित भइरहेको दाबी गरे ।

    उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिए हुने सहमति गरेर पनि केपी ओलीले सो सहमति बालुवाटारबाट बाहिरिएपछि लत्याएको भनेर प्रचार गरेको सुन्दा आफूलाई अचम्म लागेको समेत बताए । अध्यक्ष ओलीले सरकार आफै संलग्न भएकाले सो सुन तस्करी प्रकरणमा आफूहरूले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नु परेको पनि पटक–पटक दोहो¥याए ।

    उनले भने, ‘उहाँहरूले संसदमा आवाज उठ्छ भनेर अस्तीका दिन संसद् चल्न दिनु भएन । किनभने सांसद बोल्छन् भनेर । हामीले संसद् चलाऊ भनेका छौँ । सांसदहरू बोल्नु हुन्छ । आवाजहरू उठाउनु हुन्छ । तर, एक जना गृहमन्त्री मात्रै बोल्ने रे । जो भन्सार नियन्त्रण गर्न योग्य छैन । जो अनेक प्रकारका नचाँहिदा बकवास अरुमाथि लाञ्छित, आरोपित गरेर हिँड्छ । उसले भाषण गर्ने रे । अनि, सांसदहरूले बोल्न नपाउने रे ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय