• टिकट सस्तो भएपछि लुम्बिनी केबलकारमा पर्यटकको घुइंचो

  • बुटवल । टिकट दरमा ५० प्रतिशत छुट दिएर आधा सस्तो बनाएपछि लुम्बिनी केबलकार चढ्ने पर्यटकको संख्या बढेको छ ।

    केबलकारले साउनको पहिलो बुधबारदेखि हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुटसहित ‘मर्निङ अफर’ शुरु गरेसंगै पर्यटक बढेका हुन् ।

    केबलकारको दुईतर्फी यात्राका लागि साधारण टिकट दर ७५० रुपैयां रहेकोमा ‘मर्निङ अफर’ को लागि ३७५ रुपैयां मात्र कायम गरिएको छ ।
    टिकट सस्तो भएको थाहा पाएपछि बुधबार बिहान ९ नबज्दैदेखि १२ बजेसम्म केबलकारमा सर्वसाधारणको उत्साहजनक उपस्थिति र चहलपहल बढेको थियो ।

    यसअघि केबलकारमा प्रति दिन औसतमा ५ सय जना पर्यटक आउने गरेकामा ‘मर्निङ अफर’को पहिलो दिन ३ घण्टामै ९९६ जना पर्यटक आएका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।

    सर्वसाधारणको मागलाई समेत मध्यनजर गरेर भदौ मसान्तसम्मका लागि यो अफर ल्याइएको सैंजूले बताए ।

    आईएमई ग्रुपको अगुवाईमा कुल ५ अर्ब लागतको लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो ।
    सर्वसाधारणको मागलाई समेत मध्यनजर गरेर भदौ मसान्तसम्मका लागि यो अफर ल्याइएको सैंजूले बताए ।

    यो अफरमा भारतीय नागरिकले समेत ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने प्रालिले जनाएको छ ।
    यो अफरले आम सर्वसाधारणलाई निकै सस्तो शुल्कमा केबलकार यात्रा गर्ने अवसर दिएको बुटवलका विष्णु खत्रीले बताए ।

    आर्थिक मन्दी र नागरिकको क्रयशक्ति कम भएकोे परिप्रेक्ष्यमा टिकट दर आधा सस्तो बनाउंदा आम सर्वसाधारणलाई सहज भएको बताए ।

    पाल्पाबाट आएका ५० वर्षिय नारायण अर्यालले टिकट दर आधा घटाएर अफर ल्याउनु राम्रो भएको तर बटम स्टेशसनमा एक बोतल पानीको मुल्य ५० रुपैयां लिनु उचित नभएको सुझाव दिए ।

    २.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशन पाल्पाको बसन्तपुरमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।

    कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेको आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए । जेठ १५ देखि असार मसान्तसम्म केबलकारमा करिब ३० हजार जना पर्यटक आएका र ४० प्रतिशत भारतीय रहेका साउदले बताए ।

    समुद्री सतहबाट ९६० मिटर उचाईमा रहेको बसन्तपुरमा तराईका ठाउं भन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शितल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाईको थलो बनेको छ ।

    केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाका लागि छुटाएको छ । उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशतका दरले बांडफाड गर्ने गरी सम्झौता भएको छ ।

    टप स्टेशनमा २ वर्षभित्र १ सय ५० कोठा,एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पांच तारे होटेल बनाउने तयारी भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय