• गुल्मीमा यातायात क्षेत्र सुधारको अभियान : हुट राख्न प्रतिबन्द, टिकट र भाडामा निगरानी

  • गुल्मी : पछिल्लो समय गुल्मीको प्रहरी प्रशासन यातयातको क्षेत्रमा आक्रामक बन्दै गएको छ । सोमबार प्रहरी प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासहितको जम्बो टोली तम्घासको बाघमारेमा सवारी चेकजाँच र निगरानीमा व्यस्त थिए ।

    गन्तव्य नजिक ट्राफिकले सवारी रोक्दा चालकसहित यात्रु मनमनै आक्रोशित भएपनि बोल्न सक्थेनन् । नेपाल प्रहरी र ट्राफिक प्रहरीले निरन्तर सवारी जाँच, यात्रुहरुको प्रतिक्रिया र रातो नम्बर प्लेटका गाडीको हुट निकाले । क्षमताभन्दा बढि यात्रु राख्ने र कागजपत्र नभएका कारबाहीमा समेत परे ।

    चेकजाँचको क्रममा गाउँबाट सदरमुकाम आउने अधिकांश राता नम्बर प्लेटका सवारी साधन भेटिन्थे । यी गाडीहरुले चोकचोकमा पुगेर मान्छे उठाउने, पाहुर पुराउने, तरकारी र दुध बोक्नेदेखि बिरामी हुँदा एम्बुलेन्सको काम समेत गर्ने भएकाले सार्वनजिक भाडाका सवारी छोडेर नागरिकले रातो नम्बर प्लेट रोज्ने गरेका छन् ।

    सुविधाका हिसाबले यी गाडीहरु सजिलो बनेका छन् । सार्जजनिक रुटका गाडी निश्चित गन्तव्य बाहेकका स्थानमा छुट्दैनन् । सदरमुकामबाट गन्तव्यमा हिड्दा यात्रुहरुलाई अनिवार्य टिकटको व्यावस्थापन नगर्नु, निश्चीत छुट्ने समय नहुनु र दैनिक गन्तव्यमा पुग्न नसकेका कारण विश्वासनीयता गुम्दै गएको छ । तर, यात्रा र सुरक्षाको हिसावले सार्वजनिक भाडाका सवारी यात्रुका लागि आवश्यक छ । रातो र कालो नम्बर प्लेटका बिषयमा सवै यात्रु जानकार छैनन् ।

    रातो नम्बर भएका गाडीका सिमित मान्छेको मात्र बिमा हुने भएकाले दुर्घटना भएपछि उपचारमा कन्तबिजोकका थुप्रै उदाहरण गुल्मीमै छन् । रातो नम्बर प्लेटका गाडीले सुविधाका नाममा गैर कानुनी मोह बढ्दै जाने, यातायात व्यावसायीले सेबा सुधार नगर्ने र प्रहरी प्रशासनले बिकल्प बिना कानुन मात्रै हेरेर कडाई गर्दा नागरिकनै अप्ठ्यारोमा पर्ने देखिएको छ ।

    पछिल्लो समय प्रहरी प्रशासनले सवै खाले सवारी साधनको जेकजाँचमा कडाई गरेका छन् । स्थानीय स्तरबाट नागरिकले गाडीहरुले ओभरलोड बोक्ने, रातो नम्बर प्लेटका जीपले पनि यात्रु राख्ने र रकम असुल्ले, छतमा क्षमताभन्दा बढि सामान राख्ने गुनासो व्यापाक गर्न थालेका छन् । त्यस्तै सवै सवारी साधनले यात्रुहरुसंग मनपरी भाडा असुल्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले यातयातका साधनको चेकजाँचमा कडाई गरेका छन् ।

    सोमबार गुल्मी प्रहरीले सरोकारवालाको उपस्थितीमा सदरमुकाम तम्घासको बाघमारे, मुसिकोट र रुरुमा संयुक्त चेकजाँच गरेको छ । सवारीको सामान्य यान्त्रिक अवस्था, भाडाको बिषयमा यात्रुसंग प्रतिक्रिया लिने, भाडाका बाहेकका सवारीको हुट निकाल्ने र रातो नम्बर प्लेटका गाडीमा चढ्दा हुने दुर्घटनाको कानुनी अवस्थाको बारेमा चालक र यात्रुहरुलाई सचेतना दिने काम गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नविन किशोर प्रधानले जानकारी दिए ।

    ट्राफिक प्रहरीले मातहतका युनिट अनुसार नियमित सवारी साधनको चेकजाँच गरिरहेका छन् । तर, नेपाल प्रहरी र ट्राफिक प्रहरीको पहलले मात्रै समस्या समाधानमा चुनौती देखिएपछि प्रहरी प्रशासनले यातायात व्यावसायी, नागरिक समाज र पत्रकारहरुको अगुवाई छलफल, अनुगमन तथा नियमन गरिरहेको छ । प्रहरी प्रमुख श्रेष्ठले सवारी चालक तथा सवारीधनी जिम्मेवार र नागरिक सचेत बन्नुपर्नेमा जोड दिए ।

    उनले धेरै पटक छलफल, बैठक र सचेत बनाउने काम यातायात व्यावसायी, चालक र मालिकहरुलाई गराएकाले अब कानुन अनुसार कारबाही बाहेकको बिकल्प नभएको बताए । नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेयले यातायात व्यावसायीले जिम्मेवार सेवा प्रबाह गर्नुपर्ने बताए ।

    जिल्लामा भाडा, छुट्ने समय र सवारी साधनको अवस्था तथा क्षमताको बिषयमा समिति गैरजिम्मेवार भएकाले सच्चिनु पर्नेमा जोड दिए । सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले नागरिक स्तरबाट गुनासा आउने बित्तिकै सेवा प्रदायक र सरोकारवाला बसेर निकास निकाल्ने गरिएकाले भाडाको अवस्था र रातो नम्बर प्लेटका सवारीको बिषयमा अभियान थालिएको बताए । उनले बढि भाडा लिने र क्षमताभन्दा बढि यात्रु बोक्ने सवारीसाधनको बिषयमा नजिकको प्रहरी वा प्रशासनमा सिधै सम्पर्क गर्न आग्रह गरे ।

    समयमै गाडी नछुट्दा यात्रुहरुलाई परेका सास्तीका बिषयमा पनि व्यावसायीहरुसंग छलफल र समन्वय गरेर कार्यान्वयन गरिने गैरैले बताए । केहि दिन अघि जिल्ला प्रशासन कार्यालयमा यातायात व्यावसायीले भाडा बढि नलिने, क्षमताभन्दा बढि यात्रु नराख्ने, अनिवार्य टिकटको व्यावस्थापन गर्ने, २० बर्ष पुराना सवारी प्रयोग नगर्ने र इन्धनको मुल्य अनुसार भाडा समायोजन गर्ने लगायतका सात बुँदे सहमति गरेको प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले बताए ।

    उनले यात्रुको सुरक्षा, व्याहार, भाडा, सवारीको अवस्थासहितका महत्वपूर्ण बिषयमा व्यावसायीलाई सचेत बनाइएकाले कार्यान्वयमा सवैको पहल आवश्यक रहेको बताए । ट्राफिक प्रहरीले बार्षिक करिव १० हजार सवारी कारबाही गरेर ५० लाख बढि राजश्व संकलन गर्दै आएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय