• संघीय संसदका दुवै सदनबाट बजेट पारित

  • काठमाडौँ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो ।

    बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

    बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए । प्रतिनिधिसभाबाट यही असार १३ गते आगामी आवको बजेट पारित भएको थियो । सरकारले गत जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो । सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित भएसँगै आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ । राष्ट्रियसभाको अर्को बैठक आजै १३ मिनेटपछि बस्ने गरी स्थगित भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय