• रवि लामिछानेको प्रश्न : तीन दलले संसदलाई बन्धक बनाउन मिल्छ ?

    २०८० असार २५, सोमबार १७:१२ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति घोर आपत्तिजनक भएको बताएका छन् । आज (सोमबार) को प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।

    ‘प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति घोर आपत्तिजनक छ । त्यसका लागि प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो धारणा हो। प्रधानमन्त्रीले यसबारेमा खुलेर बताउनु पर्नेछ । सदनलाई बताउनु पर्नेछ’, उनले भने । लामिछानेले नेपाली जनताले चुनेको सदनबाट, आफ्नो समेतको हस्ताक्षरमा प्रचण्ड प्रधानमन्त्री भएकोमा आफूहरु निर्धक्क रहेको भए पनि प्रधानमन्त्रीले आपत्तिजनक अभिव्यक्ति दिएको बताए ।

    ‘प्रधानमन्त्रीले त छिमेकी राष्ट्रले प्रधानमन्त्री बनाउने, सार्वभौम देशको अस्तित्वमाथि नै प्रश्न खडा हुने गरी अभिव्यक्ति दिनुभयो । त्यो आपत्तिजनक छ’, उनले भने । लामिछानेले प्रधानमन्त्री सचेत हुनुपर्ने बताए । उनले भने, ‘कहिले सात हजार लडाकु मात्रै भन्दिनु हुन्छ । कहिले पाँच हजारको जिम्मा भन्नु हुन्छ । कहिले कम्फरटेबल भन्नुहुन्छ । कहिले सरकार नै अरुले बनाएको भन्नुहुन्छ । आफ्नो भनाइमा स्पष्ट हुन म प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु ।’

    केही दिनअघिको प्रतिनिधि सभा बैठकमा एमाले सांसदपछि माओवादी केन्द्रका सांसदलाई बोल्न दिइएको भन्दै लामिछानेले असन्तुष्टि व्यक्त गरे। उनले रास्वपालाई बाइपास गरेर आफ्नो कुरा राख्न नदिएको भन्दै घोर आपत्ति जनाउन चाहेको बताए ।
    ‘रास्वपा प्रतिपक्षको भूमिकामा छन्। त्यसका आफ्ना मुद्दा छन् । रास्वपा अरु दलको मुद्दामा होइन । आफ्ना मुद्दा, जो जनताका मुद्दा हुन्, त्यसमा उभिएको छ । आफ्नै स्वतन्त्र अस्तित्व साथ रास्वपा उभिएको छ । यसबारेमा हेक्का होस् भन्ने कुरा म सम्मानित सदनलाई बताउन चाहन्छु । जसले गर्दा हामीले हाम्रो कुरा राख्न पाएनौँ । नपाउँदै प्रमुख प्रतिपक्षीले जे बोल्यो, त्यसैलाई हाम्रै भाष्य हो भन्ने कुरा प्रमाणित गर्ने जुन जालसाझीपूर्ण क्रियाकलाप भयो । हामीलाई त्यसमा आपत्ति छ’, उनले भने । उनले तीन दलले संसदलाई बन्धक बनाउन मिल्छ भन्दै प्रश्न गरेका छन् ।

    सिफारिस
    लोकप्रिय