• रेशम चौधरीको सजाय माफीको प्रस्ताव पुग्यो राष्ट्रपतिको कार्यालयमा

  • काठमाडौं । सरकारले पूर्व सांसद एवम् नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको सजाय माफीका लागि राष्ट्रपति कार्यालयमा प्रस्ताव फाइल पठाएको छ ।

    २०७२ भदौमा कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भइरहेको हो । त्यसका लागि बुधबार राष्ट्रपति कार्यालयको कानुन साखमा चौधरीको सजाय माफीसम्बन्धी २० वटा फाइल पुगेको राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिए । उनले भने, ‘रेशम चौधरीजीको माफीको निम्ति राष्ट्रपति कार्यालयमा हिजो अबेर फाइलहरू आएको छ भनेर मलाई कानुनको सहसचिवज्यूले जानकारी गराउनु भएको थियो ।’

    चौधरीको माफीका लागि धेरै ठूलो फाइल भएकाले बुधबार राष्ट्रपति पौडेल समक्ष जाहेर भइनसकेको कुँवरले बताए । ‘पक्रिया पुगेको छ कि छैन त्यसलाई अध्ययन गर्नुस् । प्रक्रिया पु¥याएर सम्माननीय राष्ट्रपति ज्यू कहाँ जाहेर गर्नुस् भनेर भनेको छु,’ कुँवरले भने ,‘२० वटा फाइल छ रे । हिजो साढे २ बजे फाइल आएकाले आज सार्वजनिक बिदा हुँदा अध्ययन गर्न बाँकी छ ।’ संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।

    गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो । ऐनको दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ । चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिव १५ वर्ष कैद सजाय मिनाहा पाउने छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय