• तम्घासका सडक धमाधम पुनः कालोपत्रे हुँदै

    २०८० जेष्ठ १०, बुधबार २३:१५ मा प्रकाशित
  • गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घास वरिपरिका सडक कालोपत्रे कार्यलाई तीव्रता दिएको छ। ‘समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने मूल नारा बोकेको नगरले तम्घास वरिपरिका जीर्ण बनेका सडकको मर्मत र स्तरोन्नति गर्ने कामलाई तीव्रता दिएको हो।

    कालोपत्रे पुरानो भएर जीर्ण बनेको यो सडकका कारण प्रदूषणसँगै जोखिम बढेपछि मेयर खिलध्वज पन्थीको पहलमा कालोपत्रे गर्न लागिएको हो। जिल्लाको केन्द्रबिन्दुमा रहेको यो सडकले गुल्मी जिल्लाका १२ अन्तरपालिका र छिमेकी जिल्लाहरुलाई जोड्छ।

    जीर्ण सडकका कारण तम्घास लगायत आसपासका क्षेत्रमा अत्यधिक धुलोधुँवा, सवारी दुर्घटनाको जोखिम, ट्राफिक व्यवस्थापनलाई चुनौती र बजारको सौन्दर्यतालाई असर गरेपछि कालोपत्रे गर्ने कार्य सुरु गरिएको मेयर पन्थीले जानकारी दिए।

    ‘कालोपत्रे जीर्ण भइसकेको थियो, उनले भने, ‘बजारमा धेरै कोणबाट असर गर्ने देखिएपछि पुनः कालोपत्रेको काम सुरु गरेका छौं।’

    झन्डै २२ वर्ष अघि कालोपत्रे भएको सदरमुकामको सडक जीर्ण बनेपछि नगरले पुनःपिचको काम सुरु गरेको उनको भनाई छ।

    नगरले तम्घासबाट विमानस्थल जाने सडक समेत कालोपत्रे गर्ने कार्य अघि बढाएको छ। सदरमुकाम तम्घासबाट करिब साढे चार किलोमिटर रहेको विमानस्थल जाने सडकको टेन्डर भइसकेको र यथाशीघ्र काम सुरु हुने प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्यालले बताए।

    विमानस्थल जाने सडक पिच भएपछि यात्रुहरूलाई आवागमनमा सहज हुने छ। तम्घास बजारको पाँच किलोमिटर र विमानस्थल पुग्ने सडकको साढे चार गरी झन्डै साढे ९ किलोमिटर सडक चालु आर्थिक वर्षमै पिच गरेर सकिने अर्यालले बताए।

    सडकमा कालोपत्रे बिच्छाउने काम सुरु भए पनि बजार क्षेत्रबाट केही सडकहरू भने यस पटक छुटेका छन्। सडकमा कालोपत्रे र नाली बनाउनका लागि बजेट अभाव भएका कारण सबै सडकहरू यसै पटक कालोपत्रे गर्न नसकिएको नगरपालिकाले जनाएको छ। बजेट सुनिश्चित गरेर क्रमशः कालोपत्रे गर्ने तथा अन्य स्तरोन्नतिका काम गर्ने नगरले योजना बनाएको छ।
    नागरिक दैनिकबाट

    सिफारिस
    लोकप्रिय