• ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत

    २०८० बैशाख २६, मंगलवार २१:३१ मा प्रकाशित
  • काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताएका छन् । आज (मंगलवार) राष्ट्रिय सभाको बैठमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता बारेको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो अपेक्षा राखेको बताएका हुन् ।

    उनले बैंकको ब्याजदर घटेसँगै व्यापारको लागि ऋण लिनेहरुको लागत कम हुने र व्यापार व्यवसाय फस्टाउने बताएका छन् । उनले सरकारकोतर्फबाट पनि पुँजी खर्च हुन नसक्नु र मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन चाहेअनुसारको नहुँदा अर्थतन्त्रमा केही समस्या सिर्जना भइरहेको बताए । लक्ष्यअनुसारको आर्थिक वृद्धिका लागि पुँजीगत खर्चको प्रभाव बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

    उनले भने, ‘ब्याजदर धेरै छ, ऋण लिएकाहरु आहत छन्, कसरी सम्भव छ ? भन्ने प्रश्न पनि छ । अवश्य पनि अहिले राजश्व घटेको छ । अवश्य पनि अहिले पुँजीगत खर्च कम छ, त्यसले हाम्रो लक्ष्यअनुसारको आर्थिक वृद्धि भएन, अब हाम्रो पुँजीगत खर्चको प्रभाव बढाउनु पर्छ । हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, हामीले स्वीकार गर्नुपर्छ । उदासीनता छ, अन्तिम समयमा गएर मात्रै खर्च गर्ने प्रवृत्ति छ त्यसलाई अन्त्य गर्नुपर्छ ।

    उनले भने, ‘खर्चको मनिटरिङ पहिलो दिनदेखि नै गर्नुपर्छ, महिना महिना दिनमा गर्नुपर्छ । अहिले ब्याजदर उच्च भएको हुनाले पहिला जसले लो ब्याजदरमा ऋण लिएका थिए, उनीहरुले पनि हिसावकिताव तिर्न सकेका छैनन्, अब लिन खोज्नेले पनि लिन खोजेका छैनन् । सरकारकोतर्फबाट पनि पुँजी खर्च भएको छैन, मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन हुनुपर्नेकुरामा पनि समस्या देखिएको छ । मौद्रिक नीतिमार्फत पनि एड्रेस हुनुपर्छ । सम्बोधन हुनुपर्छ । मलाई विश्वास छ, चाँडै नै मौद्रिक नीति खुकुलो पार्छ, त्यसपछि ब्याजदर घट्छ, घटेपछि लागत कम हुन्छ । व्यापारको लागि ऋण लिनेहरुको लागत कम हुन्छ र बिजनेस भायलबल हुन्छ ।’

    अर्थमन्त्री महतले आगामी वर्षको बजेट सीमित वर्गलाई मात्रै समेटेर नल्याउने स्पष्ट पारे । उनले आगामी वर्षको बजेट एउटा वर्ग समूहलाई मात्रै लक्षित गरी नल्याउने प्रतिवद्धता जनाएका छन् ।

    सिफारिस
    लोकप्रिय