• युवा संघको नवौं राष्ट्रिय महाधिवेशन सोमबारदेखि नेपालगञ्जमा

  • नेपालगञ्ज,२६ चैत्र ।
    राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन्।

    नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको यही चैत २७ देखि २९ गतेसम्म नेपालगञ्जमा हुने नवौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीलगायत वरिष्ठ नेता आउने कार्यक्रम रहेको छ।

    अहिले महाधिवेशनको तयारी तथा प्रचार सामाग्रीले नेपालगञ्ज सजिएको छ । कोहलपुरदेखि कार्यक्रमस्थल नेपालगञ्जको होटल स्नेहसम्म राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनसम्बन्धी झण्डा र ब्यानर लगाइएको छ भने ठाउँ–ठाउँमा स्वागतद्वार बनाइएको छ।

    महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापनलगायतका कामहरु धमाधम भइरहेको राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता महाराज गुरुङले बताए।

    महाधिवेशनको उद्घाटन समारोहलाई भव्य र ऐतिहासिक बनाउने गरी मञ्च निर्माणको कार्य भइरहेको छ। महाधिवेशन उद्घाटन समारोहमा नेकपा एमाले बाँकेसँगको समन्वयमा १० हजारभन्दा बढी जनपरिचालन गरिने उनको भनाइ छ।

    महाधिवेशन उद्घाटन समारोहमा पार्टी अध्यक्ष ओलीसँगै उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवं मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य महेश बस्नेतलगायतका नेताहरु सहभागी हुँदैछन्।

    महाधिवेशनमा भाग लिन देशभरिका दुई हजार बढी प्रतिनिधि र अतिथिहरु नेपालगञ्ज आउँदै छन्। प्रतिनिधि तथा अतिथिलाई नेपालगञ्ज र कोहलपुरका होटलमा बासको व्यवस्था गरिएको महाधिवेशन आवास तथा खाद्य व्यवस्थापन समिति संयोजक रवीन्द्र लम्सालले जानकारी दिए।

    उद्घाटन समारोहमा कलाकार बद्री पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रवि वडलगायतले सांगीतिक प्रस्तुति दिने कार्यक्रम राखिएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय