• रास्वपाले भन्यो–न्यूनतम साझा कार्यक्रममा हाम्रो सहमति छैन

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको न्यूनतम साझा कार्यक्रममा आफूहरुको सहमति नभएको बताएको छ । रास्वपा प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्रीले सरकारको नयाँ नीति कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज भन्ने पनि त्यसमा असहमति रहेको बताए ।

    उनले भनेका छन्, ‘नयाँ नीति कार्यक्रम भ्रष्टाचारविरूद्ध नरम देखिएको छ । बलात्कारजन्य घटनाको छिटो छिनोफानो, बिजनेस इन्क्युबेसन सेन्टरहरू खोल्ने, गैरआवासीय नेपालीको लगानीलाई सहज बनाउने, डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने, डाटा सर्भरमा आत्मनिर्भर बन्ने, राष्ट्रिय परिचयपत्रको अवधारणालाई एक वर्षमा व्यवहारत लागू गर्नेलगायत विविध महत्वपूर्ण विषयहरू हटाइएका छन् । यसमा हाम्रो सहमति छैन ।’

    विदेशमा बस्ने नेपालीको मताधिकार, सरकारी सेवामा टाइमकार्ड, गुणस्थरिय रोजगारमुखी शिक्षाका लागि शिक्षा ऐन, छाता विश्वविद्यालय ऐन, गुणस्थरिय पहुँचयोग्य स्वास्थ्यसेवाका लागि स्वास्थ्य ऐन जस्ता विषयले निरन्तरता पाएपनि समग्रमा सरकारको नीति कार्यक्रम अमूर्त, लक्ष्यविहन रहेको टिप्पणी गरे ।

    ‘विशेषत कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानविन गर्ने भन्ने थियो पहिलाको कार्यक्रममा, अहिले त्यो हटाइएको छ’ उनले भनेका छन्, ‘तत्कालीन दलहरूबीच २०४६ सालपछिका काण्डहरू भनेर कहलिएका घटनाको छानविन गर्ने सहमति भएको थियो र त्यसलाई कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार छानविन गर्ने र कारवाही गर्ने भनेर लेखिएको थियो तर यो हटाइयो । सरकार भ्रष्टाचार रोकथाममा सिरियस देखिएन ।’

    प्रतिनिधि सभाको बैठकअघि अघि संसदीय दलको अनौपचारिक बैठक बसेर यही बिषयमा निचोड निकालेको थियो । प्रतिनिधि सभाको बैठकमा पनि रास्वपा सांसद मनिष झाले यही बिषयमा आफ्नो धारणा राखेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय