• रवि लामिछाने विरुद्ध परेका उजुरी खारेज , चितवन-२ मा उम्मेदवारी कायम

  • काठमाडौँ । चितवन क्षेत्र नम्बर–२ मा बैसाख १० मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारीविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो ।

    उम्मेदवार तथा उमेदवारका प्रतिनिधिले तीन वटा र काठमाडौँबाट युवराज पौडेल (सफल) ले इमेलमार्फत एउटा उजुरी दर्ता गरेका थिए । राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरी सुवेदीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दर्ता गराएका हुन् ।

    लामिछानेले अमेरिकी आवासीय पत्र त्यागेको ३ महिना नपुग्दै चितवन–२ मा उमेदवारी दर्ता गरेकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै दाबी बिरोध र उजुरी परेको थियो । उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दाबी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारीविरुद्ध इमेलबाट उजुरी गरेका युवराज पौडेल सफलको उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाइएको चितवनका मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले जानकारी दिएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय