• सातौंपल्ट सरकार पुनर्गठन : नव नियुक्त मन्त्रीहरुले लिए शपथ

  • काठमाडौं । नव नियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नव नियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १–१ जनालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् । जनता समाजवादी पार्टी (जसपा) को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् ।

    यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । उनीहरुले शपथ लिएका हुन् ।

    उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुसमा भौतिक पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । तीन महिनाको अवधिमा सरकार सातौं पटक पुनर्गठन भएको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय