• मुसिकोट नगरपालिकाले कृषि उत्पादनको बजार ग्यारेण्टी गर्दै !

  • गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले नमुना कार्यको सुरुवात गरेको छ । कृषकहरुलाई उत्पादनमा प्रोत्साहन गर्दै उत्पादित सामाग्रीहरुको बजारको ग्यारेण्टी गर्ने गरी नगरपालिकाले “कृषि उपज बिक्री सुनिश्चितता” कार्यक्रमको सुरुवात गरेको हो ।

    मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले कार्यभार सम्हाल्दै गर्दा कृषकहरुको बजारको ग्यारेण्टी गर्ने घोषणा गर्नुभएको थियो । नगरपालिकाले कृषकहरुको उत्पादन खरिद गर्ने र त्यसलाई बिक्री वितरण गर्ने गरी कृषि उपज सकंलन तथा विक्री वितरण केन्द्र समेत निर्माण गरेको छ ।

    नगरपालिकाले चालु आर्थिक वर्षमा निकै महत्वका साथ यो कार्यक्रमलाई अगाडी बढाएको थियो । कृषकहरुलाई उत्पादन देखि बजारीकरणसम्म आईपरेका समस्याको समाधान गर्ने र उत्पादित सामाग्रीको विक्रीको ग्यारेण्टी गर्ने कार्यक्रमको प्रमुख उद्धेश्य रहेको नगरप्रमुख जीवन खरेलले बताउनुभयो । नगरसभामा उच्च प्राथमिकता दिएर ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको भन्दै उहाँले कृषकहरुले आफुले उत्पादन गरेका कृषि सामाग्रीहरु ढुक्क भएर बिक्री गर्न र अझै उत्पादनमा बढोत्तरी गर्न आग्रह गर्नुभयो ।

    मुसिकोट नगरपालिकाले कृषकहरुबाट उत्पादित वस्तु तथा सेवाहरुलाई आफैले खरिद गर्ने भएको छ । वडास्तरमा सकंलन केन्द्र बनाईएको छ । सकंलन केन्द्रमा गएर कृषकले आफुसगं भएका कृषि सामाग्रीहरु बेच्न सक्नेछन । नगरपालिकाको ट्याक्टर मार्फत उक्त सामाग्रीहरु वामीटक्सारमा निर्माण गरिएको सकंलन तथा विक्री केन्द्रमा भण्डारण गर्ने र त्यसपश्चात ती सामाग्रीहरुलाई नगर आफैले विक्री गर्नेछ ।

    नगरपालिकाले सोझै कृषकहरुसगंबाट उत्पादित सामाग्रीहरु खरिद गर्ने भएकाले विचौलियाको डर नहुने तथा वास्तविक मुल्य समेत पाउने मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवरले बताउनुभयो । बजारको ग्यारेण्टी नगरपालिकाले गरेको भन्दै उहाँले कृषकहरुलाई अझै ठुलो परिमाणमा उत्पादनमा लाग्न आग्रह गर्नुभयो । यो कार्यक्रम कृषकहरुको उन्नतीका लागि नगरले गरेको लगानी भएकाले यसमा नाफा घाटाको अर्थ नरहने उहाँको भनाई छ । बिक्री योग्य वस्तुको सम्भाव्यता अध्ययन अझै गहिरोसगं गर्नुपर्ने भन्दै उहाँले कार्यक्रम निकै चुनौतीपूणर् रहेपनि सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

    नगरपालिकाका कृषि अधिकृत जनक पौडलले कृषि कार्यक्रम सञ्चालन तथा अनुदान सम्बन्धी कार्यविधि, नगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४ लगायतका ऐन तथा कार्यविधि निर्माण गरी उत्पादन बढाउने र बजारको ग्यारेण्टी गर्ने गरी नगरपालिका लागि रहेको बताउनुभयो । उहाँले कृषि उपज बिक्री सुनिश्चतता कार्यक्रमका लागि विभिन्न निर्देशक समिति, कार्यक्रम कार्यान्वयन तथा मूल्य निर्धारण समिति र उपसमिति निर्माण गरेको जानकारी दिनुभयो ।

    नगरपालिकाले कृषकहरुका उत्पादनहरुको मूल्य निर्धारण गरी सोझै कृषकहरुको टोल टोलमै गई उत्पादित सामाग्री खरिद गर्ने जनाएको छ । ठुलो परिमाणमा कृषि सामाग्री उत्पादन भएको भए घरमै गएर खरिद गर्ने योजना रहेको नगरपालिकाका उपप्रमुख गगां श्रेष्ठले बताउनुभयो । उत्पादन भएका वस्तुको बजारीकरण र किसानका उत्पादनलाई उचित मूल्यको समेत व्यवस्था गरिने उहाँको भनाई छ ।

    नगरले पहिलो चरणमा केही दिन भित्रै स्थानीयस्तरमा उत्पादित तरकारी जन्य सामाग्रीहरु खरिद गर्ने भएको छ । त्यसका लागि केही दिन भित्र तरकारीको मुल्य निर्धारण गरिने र खरिदको प्रक्रिया सुरु हुने बताईएको छ ।

    नगरपालिकाले नगर भित्र रहेका कृषकहरुलाई आफुले उत्पादन गर्ने कृषि बाली तथा वस्तुहरुको मासिक तथा बार्षिक विक्री योग्य परिमाण खुलाई वडा कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय