• राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल मत माग्दै राप्रपा कार्यालयमा

  • काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले आज (सोमबार) साँझ राप्रपाका नेताहरुलाई भेटेका छन् । राप्रपाको पार्टी कार्यालयमा साँझ ६ बजे कांग्रेस र राप्रपाका नेताहरुबीच भेट भएको हो ।

    भेटमा आसन्न राष्ट्रपति निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्न राप्रपा नेताहरुलाई भेटघाट गरेको एक नेताले जानकारी दिए । कांग्रेसका वरिष्ठ नेता पौडेलले राप्रपा कार्यालय पुगेर अध्यक्ष राजेन्द्र लिङदेनसँग सहयोग मागेका हुन् ।
    भेटवार्तामा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नेता दीपक बोहरालगायत नेताहरु सहभागी थिए । राप्रपाले हालसम्म राष्ट्रपतिमा कसैलाई पनि मतदान गर्ने निर्णय गरेको छैन ।

    २,४५० मतभार रहेको राप्रपाले फागुन २४ गते कार्यसञ्चालन समितिको बैठक बोलाएको छ । त्यही बैठकले निर्णय गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् । नेकपा एमाले–माओवादी केन्द्र गठबन्धनमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको राप्रपा सो गठबन्धन भत्किएर नेपाली कांग्रेस–माओवादी गठबन्धन बनसँगै सरकारबाट बाहिरिएको थियो । राष्ट्रपति निर्वाचन २५ गते हुँदैछ । कांग्रेसबाट पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय