• आइसीसी लिग–२ : पपुवा न्युगिनीसँग युएई फेरि पराजित, नेपाललाई फाइदा

  • काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको आज (आइतबार) को खेलमा पपुवा न्युगिनी विजयी भएको छ ।

    श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीले युएईलाई पाँच विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीसित युएई घरेलु मैदानमा लगातार पराजित भएको हो । टस जितेर पपुवा न्युगिनीले फिल्डिङ राजेको थियो । निर्धारित ५० ओभरको खेलमा युएईले २६ दशमलव दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ९७ रन बनायो । पपुवा न्युगिनीले ९८ रनको विजय लक्ष्य २६ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

    पपुवा न्युगिनीका लागि प्रारम्भिक ब्याटर टोनी उराले अविजित ३५ तथा सेसे बाउले १८ र हिरीहिरीले १४ रन बनाए । बलिङतर्फ युएईका रोहन मुस्तफाले दुई विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा युएईका वृत्य अरविन्दले २६, मुहमद वासिमले १९, आशिफ खानले ११ तथा चुनदाङ्गापोयल रिजवानले १० रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका रिले हेकुरेले पाँच, चाड सोपरले तीन तथा चाल्र्स अमिनीले एक विकेट लिए ।

    योसँगै युएईले ३१ खेलबाट ३१ अङ्क जोडेको छ । युएई लिगको पाँचौं स्थानमा कायमै छ । नेपाल लिगको छैटौं स्थानमा छ । नेपालले ३१ खेलबाट ३० अङ्क जोडेको छ । पपुवा न्युगिनीले ३२ खेलबाट मात्र नौ अङ्क जोडेको छ । पपुवा न्युगिनी लिगको पुछारमा छ । श्रृङ्खलाको अन्तिम खेलमा सोमबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ । यस्तोमा आइतवार यूएईले पीएनजीसँग हार व्यहोर्दा एक दिवसीय मान्यता जोगाइरहन नेपाललाई सजिलो भएको छ । त्यसका लागि अब नेपालले बाँकी ५ मध्ये ३ खेल जित्नु पर्नेछ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय