• १०० दिन पूरा हुना साथ गियर बढाउँछु : पर्यटनमन्त्री किराती

  • नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले हवाई यातायातको सुरक्षाको सवालमा कुनै सम्झौता नगर्ने बताएका छन् ।

    प्रेस सेन्टर नेपाल बाँकेले आज (बुधबार) नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री किरातीले हवाई यातायातको सुरक्षा सवाल मानवीय सवालसँग जोडिएकाले सरकार यसप्रति सचेत र गम्भीर रहेको बताएका छन् ।

    मन्त्री किरातीले वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरण र पर्यटन विकासको क्षेत्रमा सुधार गर्न सम्बन्धित विभाग प्रमुखलाई सय दिनको समय दिएको बताएका छन् । ‘हामीसँग हनिमुन मनाउने समय छैन । सय दिनभन्दा बढी पर्खदैनौं, सय दिनको परिणाम कस्तो आउँछ त्यसपछि गियर बढाउँछु ।’ उनले हवाई सुरक्षाका लागि आवश्यक प्राविधिक जाँचदेखि उपकरणको जाँच र फेरबदलसम्मका सम्पूर्ण विषयमा कडाइ गर्न सम्बन्धित सबैलाई निर्देशन दिइसकेको बताए ।

    हवाई यातायाको सुरक्षा नै पर्यटनको मेरुदण्ड भएकाले हवाई यातायातको सुरक्षा विस्तारका लागि सरकारले देशका सबै विमानस्थलको विकास र स्तरोन्तीलाई प्राथमिकतामा राखेको मन्त्री किरातीले बताएका छन् । उनले सोही क्रममा नेपालगञ्ज विमानस्थलमा तीन अर्ब बढीको लगानीमा अत्याधुनिक टर्मिनल भवन निर्माणको अनुगमन गरेका थिए ।
    यस अवसरमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थिति थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय