• पार्किङ हटाएको विरोधमा दरबारमार्गका व्यवसायी आन्दोलित

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले कुनै विकल्प नदिइ पार्किङ हटाएर व्यवसाय ठप्प भएको भन्दै दरबारमार्गका व्यवसायी आन्दोलित भएका छन् ।

    व्यवसायीले आज एक घण्टा दरबारमार्गका पसल बन्द गरेर विरोध जनाएका छन् । दरबारमार्ग विकास बोर्डले एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले अन्य क्षेत्रमा हुने ट्राफिक समस्या देखाएर दरबारमार्गको पार्किङ हटाइएको आरोप व्यवसायीको छ । सडक निर्माणकै क्रममा एकातर्फ पार्किङ गर्ने गरी बनाइएको बोर्डको दावी छ ।

    बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस क्षेत्रमा दुवै तर्फ १०(१० फिटको पैदल हिँड्ने सडक पेटी बाहेक कुल ७० फिटेको ५ लेन सडक मध्ये १ लेन सवारी पार्किङको लागि छुट्याई बाँकी ४ लेन सवारी आवागमनको लागि प्रयोग भईरहेको थियो । जसले कुनै पनि सवारी विना रोकतोक आवागमनमा सहज भई ट्राफिक समस्या देखिएको छैन ।’

    महानगरपालिकाले पार्किङ हटाएको तथा दरबारमार्ग क्षेत्रको रौनकता र व्यापार तथा सरकारको राजस्वमा पर्ने क्षतिको बारेमा कुनै हेक्का नराखेको आरोप बोर्डको छ । यो क्षेत्रमा पार्किङ हटाउँदा व्यपार व्यवसाय ठप्प हुने बताउँदै बोर्डले दीर्घकालीन रुपमा पार्किङ समस्या समाधान गर्ने उचित उपायको खोजी गरी समस्याको हल गर्न आग्रह गरेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय