• प्रचण्डले हातमा चक्कु बोकेर त्यसलाई फूल भन्नु भयो : ओली

  • काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धोका दिएको बताएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित सहिद तथा घाइतेहरुका परिवारलाई सम्मान गर्न आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

    प्रचण्डलाई लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘उहाँ ढाँट्न, छक्याउन, धोका दिन अफ्ठ्यारो मान्नु हुन्न, जनता र सहयोद्धाहरुलाई धोका दिनुभयो । आफूलाई त्यस ठाउँमा पु-याउने सिपाही र जीवन दिने सहिदहरुलाई धोका दिनुभयो भने मलाई धोका दिन कुन ठूला कुरा भयो र !’

    ओलीले दाहाललाई पहिलेदेखि नै राम्रोसँग चिनेको उल्लेख गर्दै सहमति तोडिन सक्ने आंकलन गरेको बताएका छन् ।
    ‘हातमा चक्कु लिएर बस्नु भएको थियो मलाई फूल लिएको भनेर भन्नु भयो । उहाँले नै मैले फूल लिएको हो, हातमा तपाईंलाई चक्कु भनेर भ्रम नहोस् भन्नु भयो । तपाईंले भनेपछि चक्कु होइन फूल नै हो भनेर म बसेँ तर मेरो आँखाले धोका खाएको थिएन,’ ओलीले थपे, ‘पुष्पकमल दाहालजीको बेग्लै छ, उहाँ एउटा बोल्नु हुन्छ, बेग्लै काम र अर्कै काम गर्नुहुन्छ, हेर्नु देब्रेपट्टि हुन्छ निशाना दायाँपट्टि लगाउनु हुन्छ । अस्तिसम्म पनि छक्याउने भाषा बोल्नु हुन्थ्यो । मैले पुष्पकमल दाहाललाई नचिनेको होइन तर मैले उहाँको कुरा सुनिरहेँ । उहाँले मलाई छक्याइ रहनु भयो ।’

    शुक्रबार मात्रै प्रधानमन्त्री दाहालले राष्ट्रपतिका लागि कांग्रेसका उम्मेदवारलाई सघाउने जनाएका थिए । पुस १० गते एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो । जसमा एमालेका उम्मेदवारलाई सघाउने विषयमा सहमति भएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय