• रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

  • काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । आज ( शनिबार) बिहान पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।

    सत्तासीन माओवादी केन्द्रसहित आठ दलको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेको छ । कांग्रेस नेता धनराज गुरुङले पौडेललाई शुभकामना दिएका छन् । उनले भने, ‘नेपाली कांग्रेस कार्यसम्पादन समितिले राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आदरणीय नेता रामचन्द्र पौडेललाई उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । श्रद्वेय नेता रामचन्द्र पौडेललाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

    प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा एमाले नेतृत्व गठबन्धन दुई महिनामै तोडिएको छ । राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचनपछि गठबन्धनबाट माओवादी केन्द्र, जसपा, नाउपा, जनमतले गठबन्धनबाट हात झिकेका छन् । कांग्रेससहित चुनाव अघिकै पाँच दलीय गठबन्धन ब्युँतिएको छ ।

    १४औं महाधिवेशनमा पार्टी सभापतिमा देउवालाई सहयोग गरेका पौडेल संसदीय दलको चुनावमा देउवाकै प्रस्तावक बसेका थिए । त्यतिबेलै पौडेललाई राष्ट्रपति बनाउने प्रतिबद्धता देउवाले जनाएपछि पौडेल प्रस्तावक बसेका थिए ।

    पौडेल नेपाली कांग्रेसबाट १७ पटक प्रधानमन्त्री पदमा पराजित भएका थिए । २०६७ सालको चुनावमा उनी तत्कालीन एकीकृत माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका झलनाथ खनालबीच प्रतिस्पर्धा भएको थियो । जसमा उनी १७ पटक पराजित भएका थिए ।

    २००१ सालमा जन्मिएका पौडेल १६ वर्षकै उमेरमा राजनीतिमा होमिएका थिए । २०१८ सालमा कांग्रेसले गरेको सशस्त्र क्रान्तिमा उनी सहभागी भएका थिए । त्यसयता विद्यार्थी अभियन्ता हुँदै उनी प्रजातान्त्रिक समाजवादी युवा लिको महासचिव समेत बनेका थिए । पछि नेबि संघमा आबद्ध उनी कांग्रेसको केन्द्रीय सदस्य, महामन्त्री र निर्वाचित सांसद हुँदै उपप्रधानमन्त्री समेत बनेका थिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय