• पृथ्वी जयन्ती र ‘जनयुद्ध दिवस’ को बिदालाई वार्षिक क्यालेण्डरमै राख्ने सरकारको निर्णय

  • काठमाडौं । सरकारले वार्षिक जनयुद्ध दिवसलाई आफ्नो ‘वार्षिक क्यालेण्डर’ मै समेट्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद वैठकले सो निर्णय लिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    सन्तुलन मिलाउनका लागि पृथ्वी जयन्तीको बिदालाई पनि सरकारको वार्षिक क्यालेण्डरमा समावेश गर्ने मन्त्रिपरिषदको निर्णय छ । यसको अर्थ यी दुवै बिदाले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने छन् । मन्त्रिपरिषद बैठकले गत फागुन १ गते दिएको जनयुद्ध दिवसको बिदा विवादित बनेको थियो ।

    मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारकी प्रवक्ता एवम संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको बताइन् ।

    क्यालेण्डरमा उल्लेख नभए पनि गएको पुस २७ र फागुन १ मा सरकारले सार्वजनिक बिदा दिएको थियो । २०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा दिइने सार्वजनिक बिदा पुनरावलोकनको काम आगामी भदौसम्ममा सक्ने र बिदा व्यवस्थित गर्ने निर्णय गरिएको मन्त्री शर्माले बताइन् ।

    ‘बिदाका विषयमा के गर्ने भन्ने पहिले मन्त्रिपरिषदमा छलफल भएको थियो, त्यसलाई पुनरालोकन गर्नुपर्छ भन्ने पनि छ,’ उनले भनिन्, ‘अहिले पात्रो छापिसकेको अवस्थामा भदौसम्ममा पुनरावलोकन गर्ने र आगामी सालका निम्ति व्यवस्थित गरेर लैजाने निर्णय भएको छ ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय