• गठबन्धन भत्किन सक्ने ओलीको संकेत

  • काठमाडौं । सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी शर्माले गठबन्धन भत्किन सक्ने संकेत गरेका छन् । अनेरास्ववियुको २३ औं महाधिवेशन उद्घाटन कार्यक्रममा उनले पाँच दलीय गठबन्धन भत्काएर सरकार बनाउन सफल भए पनि गठबन्धन फेरिने अवस्था रहेको संकेत गरे ।

    अध्यक्ष ओलीले अहिले देश भित्र र बाहिरका शक्तिहरू देश बरबाद पार्न सक्रिय रहेको बताएका छन् । अध्यक्ष ओलीले नेकपा एमाले देश बचाउने सुरक्षागार्ड रहेको पनि बताए । ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौं । यो सफलताको कुरा हो । हाम्रो पार्टीका आम साथीहरु प्रसन्न भएको देखिन्छ । प्रसन्न हुनुपर्दछ तर कथंकदाचित यो स्थिति फेरियो भने ?’, ओलीले प्रश्न गर्दै भने, ‘यो संसद्को बनावट नै अस्थिरताको कारक हुने बनावट छ । बहुमत कसैको छैन, हाम्रो पार्टीसँग पनि छैन । बहुमतभन्दा निकै तल सिट छ । भित्र र बाहिरका धेरै शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् ।’

    उनले कुनै डाकाले बैंकमा डकैती गनुपर्‍यो भने पहिला पालेलाई आक्रमण गर्ने भन्दै पालेकै अवस्थामा देश जोगाउने काममा एमाले लागेको बताए । ‘नेकपा एमाले यो देशमा डकैती गर्न नदिने, गेटपाले भएकाले यसमाथि नहानी भित्रै पस्न पाउँदैनन् । त्यसकारण पहिला यसमाथि प्रहार हुनसक्छ । भइआएको छ । फेरि पनि हुनसक्छ’, ओलीको भनाइ छ । उनले अझै अनेक प्रकारका षड्यन्त्र र प्रयास भइरहेको भन्दै सुखी नेपाली र समृद्धि नेपालको आकांक्षा गलत नभएको र त्यसबाट पछि नहट्ने बताएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय