• भ्रष्टाचारविरुद्ध सरकार हैदसम्म निर्मम हुन्छ : प्रधानमन्त्री प्रचण्ड

  • २८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए ।

    अख्तियार स्वतन्त्र, निष्पक्ष र निर्भीक तवरले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

    सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई काम थालेको उनले बताए । उनले अघि भने, ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडि बढाउने प्रतिबद्धता सरकारले गरेको छ ।’

    यसका लागि सबल, सक्षम र गतिशील अख्तियार चाहिने भन्दै उनले कानूनी सुधार, स्रोतको व्यवस्थापन, जनशक्ति परिचालन तथा संरचनागत सुधारमा सरकारको निरन्तर सहयोग रहने बताए ।

    संविधानले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न अख्तियारलाई सरकारले हरप्रकारको सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

    भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनका लागि भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन यही वर्षभित्र संशोधन गर्न प्रयास गर्ने उनले बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय