• मनिषा कोइराला नेपाली फिल्ममा फर्किन तयार

    २०७९ माघ २३, सोमबार ०९:२९ मा प्रकाशित
  • बलिउड इन्डस्ट्रीमा सम्मानित छवि बनाएकी अभिनेत्री मनिषा कोइराला पाठेघरको क्यान्सरलाई जितेपछि अभिनयमा सक्रिय छिन् । उनी अभिनीत नयाँ बलिउड फिल्म ‘शहजादा’ फेब्रअरी १७ तारिखबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा उनले अभिनेता कार्तिक आर्यनको आमाको भूमिका निर्वाह गरेकी छन् । भारतमा कार्तिक फिल्मको प्रचार-प्रसारमा दौडिरहँदा मनिषा भने नेपालमा छिन् ।

    शुक्रबार दरबार सिनेम्याक्समा डा. कपिल रिजालद्वारा निर्देशित फिल्म ‘ह्यारी कि प्यारी’ हेर्न पुगेकी उनले नेपाली फिल्ममा फर्किने इच्छा व्यक्त गरिन् । एक पत्रकारले अब नेपाली फिल्म पनि काम गर्ने होइन ? भनेर सोधेको प्रश्नमा उनले संक्षिप्त जवाफ फर्काइन्, ‘किन नगर्ने र ? गर्ने नि । राम्रो आयो भने गर्ने ।’ अहिले नेपाली फिल्म स्तरीय बन्न थालेकोमा पनि उनले खुसी व्यक्त गरेकी छन् ।

    उनले ‘ह्यारी कि प्यारी’ आफूलाई एकदमै अनौठो र राम्रो लागेको पनि प्रतिक्रिया दिएकी छन् । ‘निर्देशक कपिल रिजालको पहिलो निर्देशकिय फिल्म जस्तो लाग्दैन । काममा व्यवसायिकता देखिन्छ । उहाँले अत्यन्त राम्रो काम गर्नुभएको छ । जितु र साम्राज्ञीको जोडी अनौठो लाग्यो र सुन्दर पनि,’ मनिषाले भनिन् । उनले लामो समयपछि हल पुगेर नेपाली फिल्म हेरेको जानकारी प्राप्त छ ।  

    मनिषाले फिल्म ‘सौदागर’बाट बलिउडमा डेब्यू गर्नुभन्दा अगाडि सन् १९८९ मा नेपाली फिल्म ‘फेरि भेटौंला’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसपछि उनले सन् २०१० मा अभिनेता राजेश हमालको जोडी बनेर फिल्म ‘धर्मा’मा काम गरिन् । यसपछि पनि उनलाई धेरै नेपाली फिल्मबाट प्रस्ताव पुगेका थिए । तर, बलिउड फिल्मको व्यस्तताले गर्दा उनले समय निकाल्न सकिनन् ।

    सिफारिस
    लोकप्रिय