• सुनिल थापाको राजनीति : बैशाख १ मा ‘भगवत् गीता’ नआउने भएपछि ‘बुलाकी’ ल्याउँदै

    २०७९ माघ २३, सोमबार ०९:११ मा प्रकाशित
  • नेपाली फिल्म क्षेत्रमा जति राजनीति, राजनीतिक क्षेत्रमा पनि हुँदैन । कसलाई कहाँ डुबाउने र आफू कसरी सुरक्षित हुने भन्ने खेला नेपालका राजनीतिज्ञभन्दा बढी फिल्मकर्मीलाई आउँछ । यसैले भन्ने गरिन्छ, ‘नेपाली फिल्मकर्मीको राजनीतिदेखि राजनीतिज्ञ पनि डराउनु पर्छ ।’ विशेषगरी फिल्म चलाउने विषयमा फिल्मकर्मीबीच ठूलो ‘राजनीतिक खेल’ हुने गर्छ । यो धेरै पटक देखिएको छ ।

    आगामी बैशाख १ गते फिल्म क्षेत्रमा राजनीतिको अर्को भयानक खेल हुँदैछ । ‘हम तो डुबेंगे सनम, साथमे तुमको भि ले डुबाएंगे’ भन्ने नीति लिएर आगामी नयाँ वर्षलाई प्रदर्शन मिति घोषणा गर्न निर्माताबीच चलेको हानाथापले यसको पछाडि कति ठूलो राजनीति भैरहेको छ भन्ने सहजै बुझ्न सकिन्छ । यहाँ कोही निर्मातालाई कमाउने उद्देश्य छैन, बरु अरुलाई पनि कमाउन नदिने नियत छ ।

    बैशाख १ गतेलाई ‘भगवत् गीता’, ‘नाईं नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बिहे पास’ गरी पाँच फिल्मले प्रदर्शन मिति तय गरिसकेको अवस्थामा आइतबार फिल्म ‘बुलाकी’ले पनि यही मिति रोजेको छ । पाँचवटा फिल्म थुप्रिसकेको मितिमा ‘बुलाकी’ पनि आउने निर्णय ठूलो ‘सरप्राइज’ थियो । तर, के निर्माताले जानीजानी नै यो मिति रोजेका हुन् त ? यसको पछाडि वितरकको हात देखिन्छ ।

    यो भेद ‘बुलाकी’को पोस्टरले नै खुलाएको हो । नयाँ प्रदर्शन मिति उल्लेख गर्दै आइतबार सार्वजनिक गरिएको पोस्टरको पुच्छरमा त्रिनेत्रम डिस्ट्रिब्युसन र एफडी कम्पनीको लोगो छ, जुन वितरक कम्पनी हुन् । यसअघि फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गर्दासम्म यो फिल्मलाई विके फिल्मस् र एफडी कम्पनीले वितरण गर्दै थिए । तर, अहिले वितरक कम्पनी नै हेरफेर भएका छन् ।

    निर्माताले विके फिल्मस्लाई छाडेर त्रिनेत्रम डिस्ट्रिब्युसन रोज्नु फिल्मको बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा हुनुको प्रमुख कारण हो । यो कम्पनी अरु कसैको होइन, ‘ए मेरो हजुर’का निर्माता सुनिल कुमार थापाको हो । छोरी सुहाना थापालाई कम्पनीको प्रमुख बनाइएको छ, तर हर्ताकर्ता सुनिल नै हुन् । फिल्मको वितरण गर्ने उद्देश्य लिएर थापा परिवारले यो कम्पनीको सुरुवात गरेको हो ।

    अब राजनीति कसरी भयो भन्ने प्रशंगतिर जाउँ । बैशाख १ गतेलाई सबैभन्दा पहिला प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘भगवत् गीता’ निर्माता थापाको हो । अहिलेसम्म छायांकन सुरु नभएकाले यो फिल्म बैशाख १ मा आउने सम्भावना अब छैन । त्यसैले उनले आफ्नो फिल्म नआए पनि वितरण अधिकार लिएर भए पनि ‘बुलाकी’ जुधाउन लागेका हुन् । यसलाई राजनीति नै भनिन्छ होला !

    निर्माता थापाले नयाँ वर्षलाई आफ्नो पकडमा बनाउन खोजेको संकेत देखिन्छ, जसरी बलिउडमा इद सलमान खानको लागि हुन्छ । यसपालिको नयाँ वर्षमा पनि उनले साउथको ठूलो फिल्म ‘केजीएफ २’सँग ‘ए मेरो हजुर ४’ भिडाएका थिए । आगामी नयाँ वर्षमा आफ्नै फिल्म ‘भगवत् गीता’ लगाउने उनको तयारी थियो । तर, आफ्नो फिल्म नआउने भएपछि सुनिलले ‘बुलाकी’ हालेका छन् ।

    सिफारिस
    लोकप्रिय